वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले धादिङको लापा गाविसका बासिन्दा पहिरोको उच्च जोखिममा

वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले तिब्बतसँग सीमा जोडिएको धादिङ जिल्लाको लापा गाविसका बासिन्दा पहिरोको उच्च जोखिममा रहेका छन्। गाविसका कपुर गाउँ, झाक्री टोल, लामा टोलमा पस्ने मूल नाकामा सुख्खा पहिरो गएकाले ती गाउँको अन्य ठाउँसँगको सम्बन्धविच्छेद भएको छ। गाउँमाथिको रउकुना भीरबाट बेलाबेलामा खस्ने सुख्खा पहिरोले भूकम्पको त्रासमा बाँचेको स्थानीयलाई थप त्रसित बनाएको लापाका स्थानीय दिनेश तामाङले  बताए।
 
तामाङका अनुसार ६५ घरधुरी रहेका ती गाउँमा २ सय ९७ जना बसोबास गर्छन। सुत्केरी, गर्भवती महिला र बालबालिकाकको अवस्था नाजुक बनेको तामाङले बताए। 
 
सदरमुकाम धादिङबेसीबाट ३ दिनको पैदल दुरीमा रहेको सो गाविसमा प्रर्याप्त सरकारी राहत नपुगेको र आफूहरुको ज्यानको सुरक्षाको लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ। पुरानो घरमा पनि बस्न नमिल्ने र गाउँमा  नयाँ घर बनाउन पनि जोखिमयुक्त भएपछि स्थानीयमा मानसिक समस्या देखिन थालेको तामाङले बताए।
 
धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लापामा स्थानीय पहिरोको जोखिममा रहेको बताउँदै उनीहरुलाई अर्को ठाउँमा सार्ने बारेमा छलफल भइरहेको बताए।