कथा डेढ ट्रक राहत सामाग्रीको

-मोहनविक्रम सिंह
महाभूकम्पद्वारा पीडित जनताको मद्दतका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले डेढ ट्रक राहत सामाग्री नेपाल पठाएको थियो । नेपालमा भूकम्प पीडित जनताको सहायताका लागि देशभित्रबाट वा विदेशबाट ठूलो पैमानामा नगद वा जिन्सी देशभित्र उठ्ने वा आउने गरेको छ । त्यसको तुलनामा भारतबाट आएको डेढ ट्रक राहत सामाग्री एकदम थोरै हो । तर त्यसको महत्व त्यसको मात्रा र आकारमा होइन, त्यससित जोडिएका भावना र नीतिहरूसित छ । ती डेढ ट्रक राहत सामाग्रीहरूसित जोडिएका भावना र नीतिहरूमाथि विचार गर्दा तिनीहरूले सम्पूर्ण देशका लागि अत्यन्त ठूलो महत्व राख्दछन् । तिनीहरूले तात्कालिक रूपले मात्र होइन, दीर्घकालीन रूपले पनि महत्व राख्दछन् ।
भारतबाट पठाइएको डेढ ट्रक राहत सामाग्रीको महत्व यो कुरामा छ कि ती सामाग्री भारतमा काम गर्ने सामान्य श्रमजीवी जनताले सङ्कलन गरेका, उठाएका हुन् । त्यो भारतमा फ्याक्ट्रीमा काम गर्ने नेपाली मजदुर, चौकिदार वा कोठीमा काम गर्ने श्रमजीवी जनताले जम्मा गरेको राहत सामाग्री हो । त्यसका साथै भारतका विभिन्न शहरका भारतीय व्यापारीको पनि ठूलो योगदान रहेको थियो । त्यसरी जम्मा गरिएको प्रत्येक राहत सामाग्रीले भूकम्पद्वारा पीडित नेपालका जनताप्रतिको उनीहरूको माया, पीडा र उच्च प्रकारको संवेदनालाई व्यक्त गर्दछ ।
भारतबाट आएका डेढ ट्रक सामानमध्ये एक ट्रक पन्जाब, हरियाणा, राजस्थान राज्यहरूबाट र अर्को ट्रक दिल्ली राज्यबाट पठाइएको थियो । भारतमा मूल प्रवाहका २७ वटा राज्यहरू र २०० वटा नगरका समितिहरू छन् । पन्जाब, हरियाण, राजस्थान र दिल्ली राज्य समेतबाट राहत सामाग्रीको सङ्कलन र नेपाल पठाउने जुन प्रक्रिया सुरु भयो, त्यो सम्पूर्ण भारतबाट सुरु हुने प्रक्रियाको प्रारम्भ मात्र थियो । भारतका कैयौँ राज्यहरूमा राहत सामाग्रीहरू सङ्कलन गर्ने र ठूलो सङ्ख्यामा राहत सामाग्रीहरूका ट्रकहरू नेपाल पुर्‍याउने दिशामा तयारी भैरहेको थियो । तर त्यो प्रक्रिया रोकियो । भारतबाट जनस्तरमा उठेर जुन ठूलो मात्रामा राहत सामाग्रीहरूका ट्रकहरू नेपाल पठाउने दिशामा पहल सुरु भैरहेको थियो, त्यो पुरै रोकियो । त्यो कार्य किन रोकियो ? त्यो गम्भीर प्रश्न हो । यो लेखमा त्यो प्रश्नसित जोडिएका विभिन्न पक्ष्ँहरूमाथि विचार गर्ने प्रयत्न गरिने छ । 
पन्जाब राज्य समेतबाट पठाइएका पहिलो ट्रकमा भएका सामाग्रीहरूको विवरण यस प्रकार थियो ः स्वीटर ५०० थान, ब्ल्याङ्केट ३७४ थान, त्रिपाल २०० थान, चिनी ५९५ किलो, बिस्कुट ३०० प्याकेट, पु्रmटी ५५४ थान, सेनेटरी प्याड १५० थान, चाउचाउ ८० प्याकेट, नमकिन ६० प्याकेट, दाल ५० किलो, ग्लुकोज ९ प्याकेट, मिनरल वाटर २१ कार्टुन, बासमती चामल ३० बोरा, सिरक २ थान, कार्पेट २ थान, आलु ४० क्विन्टल, लेडिज सुट २४७ थान थिए । दिल्ली राज्यबाट पठाएको ट्रकमा यी सामानहरू थिए ः पानी २४० कार्टुन, बिस्कुट ८९ बक्स, चामल ६,१४१ किलो, दाल १८५० किलो, गहुृँको पिठो २४० किलो, टर्चलाइट १५ थान, मोमबत्ती १ बक्स, रेनकोट १० थान, उनी ब्ल्याङ्केट १३०० थान, तन्ना २८ थान, पानी शुद्ध गर्ने औषधि ३१२ थान, सेनेटरियम नेप्किन ३१२ थान, त्रिपाल ७ बाकस, थैला ५० थान, सिरिञ्ज ८२ बाकस, औषधिहरू आदि थिए । 
माथि लेखिएका सबै सामाग्रीहरू बजारमा किनिएका थिए वा कतिपय व्यापारीहरूले सहयोग गरेका थिए । ती सामाग्रीहरूको विवरणले बताउँछ ः भारतस्थित नेपालीहरूले भूकम्प पीडित जनता, महिला वा केटाकेटीहरूको आवश्यकतामाथि ध्यान दिएर नेपाल पठाउन सामाग्रीहरू किनेका थिए वा व्यापारीहरूबाट सामाग्रीहरूको सङ्कलन गरेका थिए । त्यसले भारतस्थित नेपालीहरूको भूकम्प पीडित जनताप्रतिको गहिरो आत्मिक भावनालाई बताउँछ । त्यो अभियानलाई भारतव्यापी रूपमा सञ्चालन गर्ने मूल प्रवाहले योजना बनाएको थियो । तात्कालिक राहत सामाग्रीहरूको सङ्कलनको क्रममा ठूलो पैमानामा जस्ता पाताहरू सङ्कलन गरेर नेपाल पठाउने योजना पनि बनेको थियो । कैयौँ व्यापारीले ती सामाग्रीको सहयोग गर्ने वचन दिएका थिए । तर त्यो अभियान पनि रोकियो ।
व्यवस्थापिका-संसदले पारित गरेको सङ्कल्प प्रस्तावको बुँदा नम्बर १६ मा भनिएको छ ः