इराकको रमादी सहर इस्लामिक इस्लामिक अतिवादी समूह आइएसले कब्जा गरेपछि हजारौं इराकी नागरिक पलायन भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार २५ हजार सर्वसाधारण पलायन भएका हुन् ।
आइएसको आतंकवादी गतिविधिकै कारण यसअघि पनि इराकबाट लाखौं मानिस पलायन भएका थिए । पलायन भएकालाई राजधानी बग्दादबाट केही किलोमिटर टाढा अस्थायी शिविरमा राखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यता, शिया समर्थित र आइएस लडाकूबीच रमादी सहरमा भीषण संघर्ष भएको छ । आइएसले रमादी सहर नियन्त्रणमा लिइ इराकी सुरक्षाफौजलाई लखेटेपछि शिया लडाकूहरु तैनाथ गरिएको हो ।
यसैबीच, रमादी सहर आइएसले कब्जा गरेपछि अप्ठ्यारोमा परेको इराक सरकारले आइएसविरुद्ध लड्न स्वयंसेवकहरुलाई गुहारेको छ । इराकको मन्त्रिपरिषद बैठकले रमादी सहर फिर्ता ल्याउन स्वयंसेवक आवश्यक परेको निर्णय जनाएको हो ।
सहर कब्जा गरेपछि त्यहाँ रहेका बैंक तथा वित्तीय संस्थालगायत व्यापारिक केन्द्र आइएसको पकडमा पुगेको छ । (एजेन्सी)