भारतमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी

भारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी पुगेको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
करिब एकै हप्तामा दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । यो दुई दशकयताकै सबै भन्दा बढी भएको जनाइएको छ ।
दक्षिणी भारतमा प्रचण्ड गर्मीले बलेको र तेलङ्गना र आन्ध्रप्रदेशमा मात्र यस प्रकोपबाट एक हजार ९९७ जना मारिएका छन् । यसैगरी पूर्वी भारतमा पर्ने ओडिसा राज्यमा पनि १७ व्यक्ति मारिएका छन् ।
लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा गत मे १८ देखि हालसम्म एक हजार ४९० व्यक्ति मारिएका छन् । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट ४८९ बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
देशभरी यस प्रकोपबाट अन्य नौ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस प्रकोपबाट मारिनेहरु दुई हजार ५०० पुगेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
लुमा परी मारिनेहरूमा विशेषगरी निर्माणको काममा लागेका कामदार, वृद्धबृद्धा र घरबारविहीन व्यक्ति रहेका छन् ।
केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरू तेलङ्गना र छिमेकमा पर्ने आन्ध्रप्रदेशमा सर्दै गएको बताइएको छ।
पछिल्ला दिनमा तेलङ्गना र आन्ध्रप्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।
आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरूलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।
कतिपय मारिनेमा मजदुरहरू नै रहेका छन् । उनीहरू लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकाले प्रभावित भएको पनि समाचारमा जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् । रासस/एएफपी