सद्भावनाका श्यामसुन्दर गुप्तालाई साढे ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना

काठमाडौं  – जिल्ला अदालत काठमाडौंका न्यायाधीश कुलप्रसाद शर्माले अपहरण तथा शरीर बन्धक मुद्दा खेपिरहेका सद्भावनाका नेता श्यामसुन्दर गुप्तालाई साढे ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरेका छन् ।
व्यापारी पवन संघाईलाई अपहरण गरी फिरौतीसमेत लिएको प्रमाणसहित उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेर अधिकतम १५ वर्ष सजाय हुनुपर्ने जिकिर गरेका थिए । न्यायाधीश शर्माको इजलासले भने आइतबार गुप्तालाई अपहरणको उद्योगसम्म गरेको भन्दै तद्नुसार साढे ३ वर्ष कैद फैसला गरेको हो ।  
८० लाख रुपैयाँ नगदसहित पक्राउ परेका गुप्तालाई जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामै राख्न आदेश गरेको थियो । साउनमा उनी थुनामा परेको साढे तीन वर्ष पुग्नेछ । त्यसपछि उनी छुट्नेछन् ।
महान्यायाधिवक्ताको कार्यालयले गुप्ताबाट अपहरणको कसुरै भएको प्रमाण पेस गर्दा पनि अदालतले हलुका सजाय गरेको भन्दै असन्तुष्टि प्रकट गरेको छ ।
हामीले ८० लाख नगदसहितै उहाँलाई पक्राउ गरेको प्रमाण पेस गरेका थियौं र त्यसले उहाँबाट कसुरै भएको पुष्टि हुन्थ्यो, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता गोपालप्रसाद रिजालले भने,  तर त्यसलाई अनदेखा गर्दै अदालतले अर्कै ठहर गरेको देख्दा हामी दु:खी छौं, यसले फौजदारी न्यायप्रणालीलाई गहिरो गरी बिथोलेको छ ।
रिजालले जिल्ला अदालतको फैसलाविरुद्ध आफूहरू पुनरावेदन गर्न तयार भइसकेको पनि बताए । ईकन्तिपुरमा समाचार छ ।