२ करोड ५० लाख संकलन गर्दै पाणिनि धार्मिक महोत्सव सम्पन्न

अर्जुन  भुसाल 



सन्धिखर्क, अर्घाखाँची जेठ ३२  ।  पाणिनि धार्मिक महोत्सवबाट २ करोड ५० लाख रुपैयाँ संकलन भएको छ ।  जिल्लाकै सबै भन्दा पुरानो  क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तरका लागि आयोजना गरिएको महोत्सव सम्पन्न सोमबार भयो । 

 



भजनमा नाच्दै जिल्लाका सभाषद द्वय टोपबहादुर रायमाझी र दुमन थपा लगायतका अन्य ।  तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम

 

दाताहरुको नगददान, भूमिदान, तुलादान, व्रतवन्ध, रुध्री पूजा, १ हजार ८ शालिग्राम परिक्रमामार्फत रकम संकलन भएको हो । महोत्सवमा  १०८ राष्ट्रि शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोविन्द शरण महाराजले कथा बाचन गरेका थिए । उनीसँगै रहेका कलाकारको टोलीले महोत्सव अवधि भर निकै मनोरञ्जन दिलायो । विभिन्न खाले भजनबाट भक्तजनले आनन्द लिए । क्याम्पस सञ्चालनमा निकै समस्या आएपछि धार्मिक महोत्सवको आयोजना गरिएको हो । महोत्सवबाट  अपेक्षा अनुसारको रकम संकलन गर्न सफल भएको क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताए ।  अपेक्षाकृत रकम संकलन भयो उनले भने,  केहि रकम अझै संकलन हुँदैछ  । उनले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति धन्यवाद दिँदै क्याम्पसले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । 



समापन समारोहमा बोल्दै एकिकृत नेकपा माओवादीका संसदिय दलका उपनेता तथा अर्घाखाँची क्षेत्र नं. १ का सभाषद टोपबहादुर रायमाझीले क्याम्पसको स्तरोन्तिका लागि धार्मिक महोत्सवको माध्यमबाट रकम जम्मा गर्नु निकै  कार्य भएको बताए । उनले पाणिनि क्याम्पसलाई नमूना कयाम्पसको रुपमा परिणत गर्नु पर्ने भन्दै यसका लागि शैक्षिक र भौतिक गुणस्तर अत्यावश्यक भएको बताए । महोत्सवबाट संकलित रकम सहि ठाउँमा सदुपयोग गर्नु पर्छ उनले भने, महोत्सवले क्याम्पस सञ्चालनमा ठूलो टेवा पुग्ने देखिन्छ । राजनीतिक प्रसङ्गगमा उनले सबै दल एक ढिक्का नभइकन भुकम्पबाट क्षति भएका संरचनाको पुर्न निर्माणको कामले पूर्णता पाउन नसक्ने बताए । उनले विपतको सामाना गर्न राष्ट्रिय सरकारको आवश्यकता रहेको औलाए । फास्ट ट्रयाकबाट छिटो संविधान जारी हुन्छ उनले भने,  संविधान बन्न साथ राष्ट्रिय सकार गठन हुन्छ ।  उनले राष्ट्रिय सकारको नेतृत्वको दावी आफ्नो पार्टीले  नगरे पनि सरकारमा जान तयार रहेको स्पष्ट पारे । 

 



महोत्सवमा उपस्थित भक्तजन ।  तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम 

 

नेकपा एमालेका नेता तथा अर्घाखाँची क्षेत्र नं. २ का सभाषद  दुमन थापाले राज्यले क्याम्पसको शैक्षिक भौतिक गुणस्तरमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको बताए । पाणिनि क्याम्पसमा धेरै संकायको पढाइ थाल्नु पर्छ, उनले भने, यसले बाहिरी जिल्लामा गएर धेरै खर्च तिरेर पढनु पर्ने वाध्यता टर्छ । जिल्लाका दुबै सभाषदले निर्वाचन क्षेत्र कोष अन्र्तगतबाट ११ लाख ११ हजार ११ सय ११ रुपैयाँ क्याम्पसलाई दिने घोषणा गरे । उनीहरुले क्याम्पसका  भवन निमार्णमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । महोत्सव मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर खड्काले धेरै चुनौतिको सामाना गरेर महोत्सव सम्पन्न गरेको बताए । महोत्सवको विषयलाई लिएर धेरै नकारात्मक टिकाटिप्पणि पनि भए उनले भने, नकारात्मक टिप्पणिलाई गलत सावित गर्दै महोत्सव सम्पन्न ग-यौं । उनले काठामाडौंमा रहेका जिल्लाबासीले क्याम्पसका लागि करिव ५० लाख रुपैयाँ संकलन गर्दै गरेको जानकारी दिँदै उक्त रकम पनि छिट्टै क्याम्पसको खातामा आउने बताए । महोत्सव मूल आयोजक समितिका संयोजक कमलप्रसाद भुसालले  पाण्निि धार्मिक महोत्सवले क्याम्पसलाई धेरै ठूलो राहत मिलेको भन्दै अझै सहयोगको जरुरत भएको बताए । क्याम्पसका भवनहरु निर्माण गर्न करोडौं रुपैयाँको अझै खाचो छ उनले भने, संकलित यो रकमले तत्कालको समस्या समाधान गरेको छ ।

 



भजन गाउँदै महाराज लगायतको कलाकारको टोली ।  तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम

 

२६ जना प्रध्यापक र अन्य ६ जना कर्मचारी गरि ३२ जना क्याम्पसमा कार्यरत छन् ।  यहाँ प्रमाण पत्र तहको पढाइ बन्द भइसकेको छ । गाउँ गाउँमा क्याम्पस सञ्चालन भएपछि यहाँ प्रमाणपत्र तहको पढाइ बन्द भएको हो  । स्नातक तहमा  व्यवस्थापन, शिक्षा र मानविकिका कक्षा सञ्चालन हुन्छन् भने स्नातकोत्तरमा नेपाली र स्वास्थ्य विषयको पढाइ हुने गरेको छ । २०४५ सालमा स्थापना भएको क्याम्पस जिर्ण बन्दै गइरहेको छ । भूकम्पका कारण जिर्ण भवन चर्किएका छन् ।  निमार्णधिन नयाँ भवन रकम अभावका कारण अलपत्र परेको छ । धार्मिक महोत्सवको आयोजना मार्फत रकम संकलन भएपछि क्याम्पस सञ्चालनमा सहजता आउने धेरैको बुझाइ छ ।

अन्य समाचारहरु