अदालतको आदेशलाई लत्याउँदै सुडानी राष्ट्रपति ओमार अल बसिरले दक्षिण अफ्रिका छाडे

 अदालतको आदेशलाई लत्याउँदै सुडानी राष्ट्रपति ओमार अल बसिरले दक्षिण अफ्रिका छाडेका छन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले बसिरविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउपूर्जी जारी गरेको छ । दक्षिण अफ्रिकाको उच्च अदालतले उनलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने निर्णय नलिँदै उनले दक्षिण अफ्रिका छाडेका हुन् ।
एक घन्टाभित्र अदालतले निर्णय लिने भनेकै बेलामा बसिरले देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आफ्नो आदेश नआउँदासम्म दक्षिण अफ्रिका नछोड्न आइतबार मात्र अदालतले बसिरलाई आदेश दिएको थियो । अफ्रिकन युनियनको शिखर सम्मेलनका लागि जोहानेसबर्ग पुगेका बसिरलाई हस्तान्तरण गर्न अन्तर्राष्ट्रिय अदालतले दक्षिण अफ्रिकालाई आग्रह गरेको थियो ।
सुडानी राजधानी ओर्लिएपछि उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ । उनीमाथि सन् २००३ मा भएको घरेलु द्धन्द्धमा विद्रोहीविरुद्ध नरसंहार मच्चाएर तीन लाख मानिस मारेको आरोप लागेको छ । एजेन्सी