अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असार ३ । वैशाख २९ गते महाभूकम्पको पराकम्पनबाट जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको युवा वर्ष जनता रविचित्र उच्च माविको १२ कोठे भवन पूर्ण रुपमा चर्किएपछि विद्यार्थीहरु अस्थायी टहरामा बसि अध्ययन गर्न वाध्य भएका छन् ।
युवा वर्ष जनता रविचित्र उच्च माविमा टहरामा बसेर अध्ययन गर्दै कक्षा नौं का विद्यार्थी । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
अभिभावकको सहयोगमा चन्दननाथ गण म्यालपोखरी व्यारेकका नेपाली सेनाले अस्याथी टहरा निर्माण गरिदिएपछि उनीहरु हटारामा बस्न पाएका हुन । ८ कोठे अस्थायी टहरा निर्माण भएको छ ।
प्राविधिकले विद्यालयमा वस्न हुँदैन भनेर सल्लाह दिएपछि अस्थायी टहरा निर्माण गरि पठनपाठन थालेका हौं विद्यालयका प्राचार्य टेकराज आचार्यले भने, टहरामा राखेर पढाउँदा समस्या भएको छ । हावाहुरी र ठूलो पानी आउँदा समस्या आउन सक्ने भएको बताए । टहरामा बसेर पढ्दा विद्यार्थीमा मानसिक रुपमा केहि असर परेको छ उनले भने, नयाँ भवन निर्माण गरि विद्यार्थीलाई सामान्य अवस्थामा फर्काउनुपर्छ । यो विद्यालय जिल्लाकै नमूना सामुदायिक विद्यालयको रुपमा परिचित छ ।
अंग्रेजी माध्यममा पढाइ हुने यहाँ गरिव दलित र जनजाति विद्यार्थीको वाहुल्यता छ । ६३ सालबाट एसएससी परिक्षाको थालनी भएकोमा हाल सम्म शत प्रतिशत नतिजा हासिल गरेको छ । विद्यार्थीलाई अध्ययनमा असहज नहोस भनेर छोटो समयमै टहरा निर्माण गर्न सफल भएका छौं पूर्व प्रअ समेत रहेका निर्माण समितिका संयोजक प्रेमनारायण भुसालले भने, विद्यार्थीलाई समस्या भएपनि पढाइ रोकिएको छैन । विद्यार्थीहरु टहरामा बसेर पढ्दा समस्या भएको बताउँछन् । कक्षा नौंमा अध्ययनरत दिक्षा चुँदालीले टहरामा बसेर पढ्दा समस्या भएको बताइन । अस्थाीय शैचालयमा शौच गर्न पनि विद्यार्थीलाई समस्या भएको छ ।
९० विद्यालयमा भुकम्पले क्षति
जिल्लाका ९० विद्यालयमा भुकम्पले क्षति पु-याएको छ । यी विद्यालयमा १ सय १० अस्थायी टहरा निर्माण गर्नु पर्ने भएकाले शिक्षा विभाग र जिल्ला दैवि प्रकोप उद्धार समितिलाई जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताए ।
अतिप्रभावित ३६ विद्यालयलाई तत्काल सहयोग गर्ने निर्णय गरेका छौं उनले भने, तत्कालका लागि अस्थायी टहरा निर्माण गरेपनि छिट्टै पुर्ननिर्माणका काम अघि बढाउनुपर्छ । उनले क्षति भएका कक्षा कोठामा विद्यार्थीलाई नराखिएको बताए । अन्य वैकल्पिक व्यवस्था गरेर भएपनि पढाइ सञ्चालन गरेका छौं उनले भने ।