शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची आसाढ ५ । अर्घाखाँची जिल्लाका जेहेन्दार विद्यार्थीहरु अब पढाइको निम्ति शहर धाउनुपर्ने बाध्यता हटेको छ ।
सदरमुकाम सन्धिखर्कको चुत्रावेसीमा अवस्थित जन ज्योति उच्च मा.वि.ले ३ बर्षयता विज्ञान संकायमा उच्च माध्यमिक तहको पठन-पाठन संचालन गर्दै आएकोमा यस बर्षदेखि अर्घाखाँची आवासिय उच्च मा.वि. वेल्वाटिकाले अंग्रेजी माध्यममा उच्च मा.वि. तहमा पठन-पाठन गर्न सुरु गरेपछि विद्यार्थीहरुलाई जिल्लामै बसेर पढ्ने वाताबरण सिर्जना भएको हो ।
जिल्लाको गाउँ-गाउँमा उच्च मा.वि. खुलेपनि प्रभावकारी पठन-पाठन र चाहना अनुसारको बिषयको अभावमा बाहिरिन बाध्य भएका विद्यार्थी जिल्लाभित्रै प्रभावकारी रुपमा अध्ययन गर्न पाउँदा प्रफुल्ल छन् ।
२०४५ सालमा सन्धिखर्क इङ्गलिस बोर्डिङ्गको रुपमा संचालित अर्घाखाँची आवसिय उच्च मा.वि.ले २०५४ सालदेखि उच्च मा.वि. तहमा पठन-पाठन गर्दै आएको थियो । उच्च मा.वि.ले २०६४ सालदेखि अर्घाखाँची शिक्षा क्याम्पसको नाममा त्रि.वि.वि.बाट सम्वन्धन प्राप्त गरी शिक्षा शास्त्र संकायमा स्नातक तहका कक्षा समेत संचालन गर्दै आएको छ ।
जिल्लाको पहिलो संस्थागत विद्यालयको रुपमा स्थापित उच्च मा.वि.ले उच्च माध्यमिक तहमा जिल्लामा उत्कृष्ट नतिजा हाँसिल गर्न सफल रहेको विद्यालय संचालक समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताउनु भयो ।
विद्यार्थी बाट न्यून शुल्क लिएर संचालित विद्यालयले गरिब,जेहेन्दार,द्धन्दपिडित,शहिद परिवार र असहाय विद्यार्थीहरुलाई निःशुल्क रुपमा अध्यापन गराउदै आएको विद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसालले बताउनु भयो ।
भुसालले भु-कम्पबाट आक्रान्त बनेका विद्यार्थीहरुलाई मुलुकका मुख्य-मुख्य शहरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्न कक्षा ११ र १२ को व्यबस्थापन संकायलाई बोर्डिङ्ग शैलिमा अंग्रेजि माध्यमबाट पढाउन लागेको बताउनु भयो ।उहाँले अंग्रेजि माध्यमबाट पढाउनको लागि विज्ञ शिक्षकहरुको व्यबस्था समेत मिलाईसकिएको जानकारी दिनुभयो ।
जिल्लाको गाउँ-गाउँमा उच्च माध्यमिक विद्यालय रहँदा-रहँदै पनि विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तिण हुने अधिकाशं विद्यार्थी जिल्ला बाहिरिने गरेकोमा यस बर्षदेखि जिल्लामै बसेर पढ्ने बातावरण तयार भएको अभिभावक संघका अध्यक्ष बावुराम पन्थीले बताउनु भयो । अर्घाखाँची आवासिय उच्च मा.वि.ले यस बर्ष रजत महोत्सवको समेत तयारी गर्दैछ । रजत महोत्सवकै अवसर पारी शैक्षिक सुुधारको निम्ति थप कार्यक्रम समेत घोषणा गर्ने तयारीमा रहेको प्रिन्सिपल भुसालको भनाइ छ ।
अर्घाखाँची आवासिय उच्च मा.वि.ले लुम्बिनि अञ्चलकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुनको निम्ति शैक्षिक गुणस्तर वृद्धि र भौतिक सुधारमा जोड दिएको छ । स्मरण रहोस यस बर्षको एस.एल.सी.परिक्षामा यस विद्यालयले सत प्रतिशत नतिजा ल्याई उत्कृष्टता प्रदर्शन गर्न सफल भएको छ ।