आर्थिक अवस्थाबाट गुज्रिरहेको ग्रीसलाई माथि उकास्नका लागी सोमबार हुन लागेको बैठक अगावै त्यहाँको बामपन्थी पार्टीले खर्च कटौतीसम्बन्धी घोषणाको अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
युरोपियन संघको महत्वपूर्ण बैठक अगावै खर्च कटौतीको घोषणा फिर्ता नगरे प्रदर्शन चर्काउने बामपन्थी पार्टीका नेताहरुले चेतावनी दिएका छन् ।
सोमबार हुने बैठकमा अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफको फैसलाप्रति विचार विमर्श गरिने छ ।
ग्रीसले आगामी जुन सम्ममा आईएमएफलाई दुई अर्ब अमेरिकी डलर बराबरको ऋण चुक्ता गर्नुपर्ने छ ।
यता ग्रीसले भने आफूहरुलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त नभएको खण्डमा ऋण चुक्ता गर्न नसक्ने स्पष्ट पारिसकेको ।
ग्रीसको आर्थिक संकटको हल खोज्ने उद्देश्यले युरोपेली संघका नेताहरुले भने सोमबार बैठक गर्दैछन् ।
खर्बौं खराब ऋणमा डुबेको ग्रीसको अर्थव्यवस्था टाट पल्टने अवस्थामा पुगेको छ ।
यता टाट पल्टँदो अर्थव्यवस्था र दाताहरुले बढाउँदै लगेको दबाबकै क्रममा सर्वसाधारणले भने धमाधम बैंकहरुबाट पैसा निकाल्न थालेका छन् ।
एक हप्ताको बीचमा बैंकबाट अर्बौ-अर्ब यूरो निकालिएको छ । यसैबीच रुसले भने ग्रीसले मागेमा आफ्नो देश ऋण उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
यसअघि बिहीबार यूरोजोनका अर्थ मन्त्रीहरुको बैठक बसेको भए पनि कुनै समाधान निस्किएको थिएन ।
आफ्ना ऋणदातासँग सम्झौतामा पुग्न ग्रीससँग अब जम्मा दुई हप्ताको मात्र समय बाँकी रहेको छ ।
ऋणदाता मुलुकहरु भने ग्रीसले आर्थिक सुधारका क्षेत्रमा निकै कठोरतापूर्वक खर्च कटौति गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । एजेन्सी