दक्षिण अफ्रिकामा सन् २०१२ मा भएको हड्तालका क्रममा ३४ जना खनिज मजदुर मारिएका सम्बन्धमा अनुसन्धान गर्न एक आयोगले सिफारिस गरेको छ ।
मारिकाना खनिज केन्द्रमा मजदुर हड्ताल अन्त्य गर्न प्रहरीले गरेको हस्तक्षेप ठीक नरहेको निष्कर्ष निकाल्दै आयोगले प्रहरीविरुद्ध आपराधिक अनुसन्धान गर्न सिफारिस गरेको हो ।
राष्ट्रपति ज्याकब जुमाले मजदुर हड्ताल अन्त्य गर्न प्रहरीले गरेको हस्तक्षेप ठीक नरहेको निष्कर्ष आयोगको रहेको बताए । तर, प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गर्दै आएको छ ।
तलबबृद्धिको माग गर्दै मजदुरहरु हड्तालमा उत्रँदा प्रहरीले गरेको कारबाहीमा ३४ जनाको मृत्यु भएको थियो । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएयता यो सबैभन्दा ठूलो हिंस्रक घटना मानिएको छ । (एजेन्सी)