चीनमा विश्वस्तरीय बैंकको स्थापनाको औपचारिक घोषणा, नेपाल पनि संस्थापन सदस्य

चीनमा विश्व बैंक र एसियाली विकास बैंकको प्रतिस्पर्धीको रुपमा नयाँ वित्तिय संस्था एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक अस्तित्वमा आएको छ ।
बैंक स्थापनाको औपचारिक घोषणा कार्यक्रममा विभिन्न ५० शेयर सदस्य राष्ट्रका प्रतिनिधिहरुको उपस्थिति थियो । बैंकको संस्थापन सदस्यहरुमा नेपालसहित बेलायत, जर्मनी, अष्ट्रेलिया र दक्षिण कोरियासमेत छन् ।
अमेरिका र जापानले भने एआइआइबीको सुरुदेखि नै विरोध गर्दै आएका छन् । चीनको नेतृत्वमा स्थापना भएको यो बैंकले एसियाको उर्जा, यातायात र भौतिक संरचनाका क्षेत्रमा लगानी गर्ने बताइएको छ ।
बैंकको हालको पूँजी ५० अर्ब डलरलाई बढाएर १ खर्ब डलर पुर्‍याउने लक्ष्य लिइएको छ । बैंकमा चीनको ३० प्रतिशतभन्दा बढी शेयर छ भने भारत दोस्रो ठूलो शेयरहोल्डर मुलुक बनेको छ ।
विश्वस्तरीय नयाँ बैंकको स्थापनालाई चीनको कुटनीतिक जित मात्र नभइ महत्वपूर्ण आर्थिक विकासको सूचकका रुपमासमेत विश्लेषण गरिएको छ । बैकले यो वर्षको अन्त्यअघि नै कारोबार सुरु गर्नेछ । (एजेन्सी)