ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफलाई तोकेको समयसिमाभित्र ऋण तिर्न सकेन

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफलाई तोकेको समयसिमाभित्र ऋण तिर्न नसकेपछि युरोपेली मुलुक ग्रीस औपचारिक रुपले खराब ऋणीहरुको सूचीमा परेको छ ।
यसले ग्रीसलाइ युरोजोनबाट बहिर्गमनको अवस्थासम्म पुर्‍याउन सक्ने चेतावनी दाताहरुले दिएका छन् ।
ग्रीससले मंगलबार बेलुकीसम्म आईएमएफलाई डेढ अर्ब डलर ऋण चुक्ता गर्नुपर्ने थियो ।
तर समयभित्र रकम जम्मा गर्न नसकेपछि आईएमएफले ग्रिसलाई औपचारिक रुपमै बक्यौता तिर्न नसक्ने राष्ट्रहरुको सूचीमा राखेको हो ।
विकसित राष्ट्रतर्फ यस्तो सूचीमा पर्ने ग्रीस पहिलो मुलुकसमेत बनेको छ ।
ग्रीसको आर्थिक संकटलाई लिएर मंगलबार राति अबेरसम्म युरोजोनका मन्त्रीहरुको बैठक बसे पनि उसलाई आर्थिक सहायता दिने विषयमा सहमति हुन सकेन ।
तर पनि अन्तिम समयमा ग्रिसले अघि सारेको सुधारको प्याकेजबारे छलफल गर्न भने युरोजोनका मन्त्रीहरु सहमत भएका छन् ।
ग्रिसले ऋण चुक्ता गर्ने सयम लम्ब्याउन अन्तराष्ट्रिय मुद्रा कोषलाई पत्र पठाएकाले त्यसबारे बोर्ड बैठकमा छलफल हुने कोषका प्रवक्ता गेरी राइसले जानकारी दिए ।
युरोजोनबाट प्रस्तावित सुधार योजना लागु गर्न अस्विकार गरेपछि ग्रिसको आर्थिक संकट गहिरिँदै गएको हो ।
युरोजोनले ग्रीसलाई पेन्सन भत्ता कटौती गर्न एवम् करको दायरा बढाउन प्रस्ताव गर्दै आएको छ भने ग्रिसका प्रधानमन्त्री अलेक्सिस सिप्रास यसको विपक्षमा छन् ।
युरोपेली प्रस्ताव स्विकार्ने कि नस्विकार्ने भन्ने विषयमा ग्रीसमा आगामी आइतबार जनमत संग्रह हुँदैछ । -एजेन्सी