सिरियामा सेनाको कारवाहीमा एक सय विद्रोही मारिएका छन् ।
एलेप्पो शहर कब्जा गर्न विद्रोहीले ठूलो अभियान चलाइरहेको थाहा भएपछि सरकारी सेनाले आक्रमण गर्दा उनीहरु मारिएका हुन् ।
सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स संगठनका अनुसार विद्रोहीले सरकार नियन्त्रित क्षेत्रमा सयौं रकेट प्रहार गरी हिजो केही क्षेत्र नियन्त्रणमा लिएका थिए ।
तर सिरियाई सरकारी समाचार संस्था सनाले भने सैनिक कार्वाहीमा एक सय जना मारिएको जनाएको हो ।
कुनै समय सिरियाको औद्योगिक गढ मानिएको एलेप्पोमा अहिले पश्चिमतर्फ सरकार र पूर्वतर्फ विद्रोहीको नियन्त्रण रहेको छ ।
यूनेस्कोको सम्पदा सूचीमा रहेको यो शहरमा मात्र दुई लाख तीस हजार मानिस मारिएका छन् भने शहर करीब ध्वस्त भइसकेको छ ।
सन् २०११ मा राष्ट्रपति बसर अल असदको शासनविरुद्ध विद्रोहीले शुरु गरेको संघर्षकै कारण आधाभन्दा बढी जनताले देश छाडेर अन्यत्र शरण लिइरहेका छन् । – एजेन्सी