भारतको मुम्बई बम आक्रमणका दोषी याकुब मेननलाई अन्ततः फाँसी दिएको छ ।
मेननले सर्वोच्च अदालतमा दिएको याचना खारेज भएसँगै उनलाई फाँसी दिइएको हो ।
मृत्युदण्ड नदिन मेननले गरेको अनुरोधमाथि गए रातभर सर्वोच्च अदालतमा छलफल भएको थियो ।
मेननका तर्फबाट वकिलहरुले अरु १४ दिन फाँसीको सजाय टार्न गरेको आग्रह अदालतले खारेज गरिदिएको हो ।
रातभरको सुनुवाईपछि बिहीबार विहान पाँच बजे न्यायाधीश दीपक मिश्र नेतृत्वको तीन सदस्यीय इजलासले उक्त आग्रह खारेज गरेको हो ।
यसअघि राष्ट्रपति प्रणव मुखर्जीले पनि मेननको आग्रह खारेज गरेका थिए ।
त्यसपछि वरिष्ठ वकिल प्रशान्त भूषणको नेतृत्वमा केही कानुन व्यवसायी र सामाजिक कार्यकर्ताले मूख्य न्यायाधीशलाई भेटेर मेननको मृत्युदण्डको सजायँ १४ दिन टार्न आग्रह गरेका थिए ।
राष्ट्रपतिबाट याचिका खारेज र मृत्युदण्ड दिनेबीचमा कम्तिमा १४ दिन अन्तर रहनुपर्ने भनाइ उनीहरुको थियो ।
धेरै मानिस मेननलाई फाँसीको सट्टा जन्म कैदमा रुपान्तरण गर्न माग गरिरहेका थिए । (एजेन्सी)