मलेसियन एयरलाइन्सको विमानबारे अन्तर्राष्ट्रिय छानबिन गर्न पेस गरिएको प्रस्ताव रोक्न रुसद्धारा भिटो प्रयोग

युक्रेनमा दुर्घटनाग्रस्त मलेसियन एयरलाइन्सको विमानबारे अन्तर्राष्ट्रिय छानबिन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेस गरिएको प्रस्ताव रोक्न रुसले भिटो प्रयोग गरेको छ ।
सन् २०१४ जुलाइमा नेदरल्याण्ड्सको एम्सटरडमबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको एम.एच. सेभेन्टिन बिमान युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा दुर्घटनामा परेको थियो ।
सोही दुर्घटनाबारे अन्तर्राष्ट्रिय सुनुवाई गर्न नेदरल्याण्ड्स, बेल्जियम, युक्रेन र अष्ट्रेलियाको समर्थनमा मलेसियाले गरेको प्रस्ताव विरुद्ध रुसले भिटो पावर प्रयोग गरेको हो ।
सुरक्षा परिषदका १५ मध्ये ११ राष्ट्रले छानविनको पक्षमा भोट हाले भने चीन, भेनेजुएला र एङ्गोला अनुपस्थित रहे ।
गत जुलाईमा युक्रेनमा भएको उक्त दुर्घटनामा २ सय ९८ जनाको मृत्यु भएको थियो । त्यतिबेला त्यस क्षेत्रमा रुस समर्थित विद्रोही र युक्रेनी सेनाबीच युद्धको अवस्था थियो ।
रुस समर्थित विद्रोहीले रुसमै निर्मित क्षेप्यास्त्र प्रयोग गरी विमान खसालेको दावी केही अन्तर्राष्ट्रिय संघ संस्थाले गर्दै आएका छन् । रुसले भने यो आरोप खण्डन गरिसकेको छ ।
दुर्घटनालगत्तै नदेरल्याण्ड्सका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले पनि विमान तिव्र गतिमा जमिनबाट आएको कुनै शक्तिशाली वस्तुसँग ठोकिएर क्षतविक्षत भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
उक्त अध्ययनको पूर्ण प्रतिवेदन यसै हप्ता सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । (एजेन्सी)