शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले १३ लाख ७१ हजार राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले आर्थिक बर्ष २०७१-७२ मा ट्राफिक नियम उलंघन गर्ने ४ हजार ४ सय सवारी साधनहरु बाट अघिल्लो आर्थिक बर्षको तुलनामा करिव साढे ३ लाख बढी १३ लाख ७१ हजार राजस्व संकलन गरेको हो ।
कर्मचारी युनियन अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीको सहकार्यमा सन्धिखर्कमा ट्राफिक सचेतना मुलुक होर्डिङ बोर्ड राखिएपछि । तस्बिर सौजन्य : प्रकाश भट्टराई, सन्धिखर्क, अर्घाखाँचीडट्कम / फाइल (२०७२ जेष्ठ ०४ सोमबार)
ट्राफिकले ३ सय ५६ बस कार्वाही बाट १ लाख ४८ हजार ६ सय , ३ सय ७७ ट्रक बाट १ लाख ६४ हजार ७ सय , १ हजार १ सय ७४ जिप बाट ३ लाख ५२ हजार ३ सय , ५ सय ४८ ट्याक्टर बाट १ लाख ५४ हजार ४ सय र १ हजार ९ सय ९ मोटर साईकल कार्वाही बाट ५ लाख ५१ हजार ५ सय रुपैयाँ कर असुली गरेको जनाईएको छ ।
अघिल्लो आ.व .मा ४ हजार ५ सय ७ सवारी कार्वाहीमा १० लाख ३५ हजार ५ सय ५० रुपैंया राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष कम सवारी साधन कार्वाहीमा परेपनि राजस्व बढी संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेसम बहादुर रानाभाटले बताउनु भयो ।
ट्राफिकले सवारी साधनलाई बढी कार्वाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभइ चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने अभिप्रायले पटक पटक सचेतना मूलक प्रचारात्मक अभियान सञ्चालन गरेका कारण कम सरावी साधन कारवाहीमा परेको रानाभाटको भनाई छ ।
जिल्लामा पश्चिमाञ्चल बस व्यवसायी संघले १ सय २० बस तथा देउराली यातायात व्यवसायी समितीले १ सय २५ जिप नियमित संचालन गर्नुका साथै गुल्मी ,पाल्पा यातायात व्यवसायीका सवारी साधन ट्रक ,ट्याक्टर र मोटरसाईकल समेत जिल्लाभर नियमित करिव ६ सय बढी सवारी साधान संचालन हुने गर्दछन् ।
ट्राफिक नियममा कडाईपछि दुर्घटनामा परि मर्नेको संख्यामा कमी
अर्घाखाँची जिल्लामा गत आ.व. मा सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आ.व. मा भएका २० दुर्घटनामा ३२ जनाको ज्यान गएकोमा गत आ.व. मा भएका २१ दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा ३३ जना गम्भिर घाईते हुनुका साथै ४२ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समयमा ट्राफिक प्रहरीलेृ सचेतना मुलक कक्षा संचलनका साथै ट्राफिक नियम कडाईका साथ लागु गरेपछि क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी धनि र चालकहरु निकै संकटमा परेका छन् ।
सन्धिखर्कको अगुलाखोलामा सवारीसाधन चेकजाच गर्दै ट्राफिक प्रहरी । तस्बिर: अर्घाखाँचीडट्कम
यसैबिच जिल्लामा लामो समय देखिको अव्यवस्थित पार्किङ्गमा आंशिक रुपमा सुधार आएको स्थानिय बासिन्दाको भनाई छ । ट्राफिकले सडकमा राखिएका मोटरसाईकल लाई कार्वाही गर्न सुरु गरेको छ भने सडकमा गाडी राख्नेहरु लाई चेतावनी दिएको र केहि दिन भित्रमै भौतीक एवं आर्थिक कार्वाही गर्ने तयारी गरेको ट्राफिक प्रमुख रानाभाटले बताउनु भयो । सडक गाडी राख्नको लागी नभई गुड्नको लागी भएको भन्दै उहाँले सडकमा गाडी पार्किङ्ग गर्नेहरुलाई कार्वाही गरिने चेतावनी दिनुभएको छ ।