काठमाडौ – माथेमा प्रतिवेदन बुझेको डेढ महिनापछि सरकारले सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा मंगलबार साँझ यसको पूर्णपाठ राखिएको छ ।
माथेमा नेतृत्वमा शिक्षा र स्वास्थ्य क्षेत्रका प्राज्ञिक विशेषज्ञले छ महिना लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालाले बुझेको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले सार्वजनिक नगरेपछि कान्तिपुरले गत शनिबार प्रतिवेदनको पूर्ण पाठ इकान्तिपुरडटकममार्फत् सार्वजनिक गरेको थियो ।
प्रतिवेदन सार्वजनिक भएपछि इकान्तिपुरसँग कुरा गर्दै संयोजक माथेमाले मन्त्रिपरिषद्ले आफ्नो अध्ययनमाथि अध्ययन गर्न थप ३० दिन मागेकोमा चलखेलको आशंका गरे । ‘रिपोर्टका सुझावहरुमाथि यताउति गर्ने योजना हो कि, नत्र किन अध्ययनमाथि फेरि अध्ययन गर्नुपर्यो ?’ उनले प्रश्न गरे । ईकन्तिपुरमा समाचार छ ।