-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
म ऐले लडेको धुरी पो भएछु
नबज्ने ठुटो बाँसुरी पो भएछु ll
चपाए सयौँले निले मक्ख पर्दै
खुबै स्वादिलो तन्दुरी पो भएछु ll
झरे पालुवा छैन बाँकी सिँगार
सुकेको बुढो लाँकुरी पो भएछु ll
गरेकै थिएँ प्यार चोखो सबैमा
अनायास नै निष्ठुरी पो भएछु ll
रिसाएर होला पुगे दूर कोही
सके त्रास छर्ने हुरी पो भएछु ll
झनै क्रुद्ध बन्दै गयो यो जमाना
रुखो कर्ममा मन्जुरी पो भएछु ll
भरोषा र आशा भए छिन्नभिन्न
टुटे झैं दुवै पाखुरी पो भएछु ll
बनेको छु प्यारो कतै आज धेरै
कतै चाँहि तीखो छुरी पो भएछु ll
खुदैमा हुँदो हो हजारौं सुवास
वृथामा म त्यो कस्तुरी पो भएछु ll
(भुजङ्गप्रयात छन्द )