हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको हंसपुर स्थित रखले गाउँमा पहिरो खस्न थालेपछि त्रासले १४ घरपरिवार विस्थापित भएका छन् ।
पहिरोले घरमै ढुङ्गा पुगेपछि पुस्तौँ देखि बस्दै आएको आफ्नो घर सम्पत्ति नै छाडेर छिमेकी गाविस बाँगी र टिमुरेगाउँमा बस्न वाध्य भएका छन् ।
उक्त गाउँका १४ घर परिवारका ७५ जना पहिरोको डरले गाउँ छाडेर टिमुरे गाउँमा कोठा भाडा र आफन्त इष्टमित्रकहाँ आश्रय लिएर बसेका छन् । उनीहरु सन्धिखर्क-सालझन्डी-ढोरपाटन सडक योजना अन्तर्गतको सडकको पहिरोबाट ठूला-ठूला ढुङ्गा बस्तीमा खसेपछि त्रसित बनेका हुन् ।
उनिहरुले अरुको घरमा बस्न निकै समस्या भएकोेले र पहिरो जतिबेला पनि खस्न सक्ने भन्दै सरकारले घरबासको व्यवस्था गरिदिनु पर्ने माग गरेका छन् ।
अविरल वर्षाका कारण ढुङ्गासहितको गाउँमाथिको डाँडो नै चिरैचिरा भएर खस्न थालेपछि उनिहरुले घरमा भएको अन्नपात र गाईभैँसी, बाख्रासमेत लिएर बस्ती नै छाडेका हुन् ।
यसअघि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको टोलीले विस्थापित गाउँको अवलोकन गर्नुका साथै सुरक्षित स्थानमा टहरा बनाइ बस्न भन्दै प्रतिघर पाँच हजार रुपैयाका दरले रकम प्रदान गरेको छ।