सिरियाली लडाकू र सरकार समर्थित सेनाबीच ४८ घन्टे युद्धविराम

काठमाडौं  । सिरियाका विभिन्न तीन सहरमा सिरियाली लडाकू र सरकार समर्थित सेनाबीच ४८ घन्टे युद्धविराम भएको छ ।
युद्धविरामका लागि लडाकू समूह अहर अल शाम र लेबनानको हिज्बुल्लाहबीच सहमति भएको हो । युद्धविरामपछि विद्रोही नियन्त्रित जावादानी र सरकारी सेनाको पकड रहेको फुआ र काफ्रया सहरमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको आपूर्ति सहज हुनेछ ।
जावादानीमा हिज्जुवुल्लाहका लडाकू र सिरियाली सेनाबीच व्यापक संघर्ष भैरहेको थियो ।
यसैबीच, सरकारी सेनाले विद्रोहीविरुद्ध गरेको कारबाही र राजधानी दमस्कस आसपास विद्रोहीले गरेको रकेट आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । आक्रमणमा ५५ भन्दा बढी घाइते भएका छन् ।
सिरियामा सन् २०११ को मार्चयता राष्ट्रपति बशार अल असादको शासनविरुद्धको संघर्षका क्रममा २ लाख ३० हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने मुलुकको जनसंख्याको आधाभन्दा बढी १ करोड १५ लाख मानिस पलायन भएका छन् । (एजेन्सी)