चीनको उत्तरी सहर तियान्जिनमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । चार सयजना भन्दा बढी घाइते भएका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वा अनुसार मृतकमध्ये १२ जना अग्निशमनकर्मी छन् ।
विस्फोटमा परी निर्यातका लागि राखिएका सयौं कारसमेत नष्ट भएका छन् । चिनियाँ सरकारी संचारमाध्यमका अनुसार रासायनिक सामान राखेको एउटा गोदाममा विष्फोट भएको हो ।
विस्फोट कसरी भयो भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन । तर खतरनाक तथा रासायनिक सामानहरु भण्डारण गरिएको भवनमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे विस्फोट भएको हो । विस्फोटपछि तियान्जिन शहरको आकाशमा आगोको ज्वाला र धुँवाको मुस्लो देखिएको थियो ।
पहिलो विस्फोट भएको केही समयपछि शक्तिशाली दोस्रो विस्फोट भएको थियो । विस्फोटका कारण सयौं भवन र सवारीसाधन ध्वस्त भएका छन् । विस्फोटलाई औद्योगिक दुर्घटना भनिएको छ । विस्फोटको धक्का कयौं किलोमिटर परसम्म महशुश गरिएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले सम्पूर्ण शक्ति लगाएर उद्धार कार्य तीब्र पार्न निर्देशन दिएका छन् । (एजेन्सी)