गित संगितको तालमा, अर्घाखाँचीका शिक्षकद्धारा जिल्ला शिक्षा कार्यालय घेराउ

शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची । जिल्ला शिक्षा कार्यालय अर्घाखाँची शुक्रवार संगितमय बन्यो । सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै देश व्यापी आन्दोलनमा उत्रिएका शिक्षकहरुले गाएको गित र नृत्यले कार्यालय संगितमय बनेको हो । विहान नौ बजे ब्यानर सहित सयौंको सङ्ख्यामा शिक्षा कार्यालयमा पुगेका शिक्षकहरुले कार्यालयको गेटमा व्यानर झुण्डाएर दिनभर धर्ना दिए । निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्वासे ९ नवज्दै कार्यालय भित्र प्रवेश गरेपनि बाँकी सवै कर्मचारी दिनभर चर्काे घाममा पसिना चुहाउँदै बाहिरै बस्न बाध्य भएका थिए । 

 


तस्बिर: सुर्य भुसालबाट

 

यता अरु समयमा राजनितिक दलहरुको भातृ संस्थाबनी आफ्नो पार्टीका नेताहरुको वकालत गरेर नथाक्ने शिक्षक नेताहरु भने पक्ष विपक्ष नभनी दिनभर गितको माध्यम बाट नेता र मन्त्रीको आलोचनामै थिए । गणतन्त्रको प्राप्तीका लागी आफुहरुले ठुलो कुर्वानी गरेपनि नेताहरु बाट शिक्षक समुदायले धोका खाएको उनीहरुको गुनासो रहेको थियो । 



उनीहरुले गितबाट भन्दै थिए:

हाम्रो साथले चुनाव जिती सांसद मन्त्री भयौ 

ज्ञान दिने गुरुजनलाई धोका तिमि दियौं 

गुरु जनको मन दुःखाएर ठुलो मान्छे हुन्नौ 

खोलातरी विर्सेयौ लौरो ज्ञानी नेता हुन्नौ।।



शिक्षकहरुले कतिवेला आफ्नो दुखका गित गाउँथे त कतिवेला नेतावाट पाएको धोका बाहिर पस्कन्थे । विहान ९ बजे सुरु भएको धर्ना मध्यान्न ३ बजे सकिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै ,नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष हरि प्रसाद भुसालले राज्यले आफैले गरेको सहमति कार्यान्वयनमा आनाकानी गरि धोका दिएको गुनासो गर्नु भयो ।  उहाँले विगतका सहमति कार्यान्वयन नभए सम्म आन्दोलन नरोकिने चेतावनी समेत दिनु भयो ।

 



तस्बिर: सुर्य भुसालबाट

 

कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष ईश्वरी प्रसाद भुसाल , शैक्षिक गणतान्त्रीक मञ्चका अध्यक्ष शुभाषचन्द्र बन्जाडे , शिक्षक संघका अध्यक्ष यादव प्रसाद भुसाल , नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष बावुराम आचार्य , एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कमल प्रसाद घिमिरे , अखिल नेपाल शिक्षक संघका का.वा. अध्यक्ष कृष्ण बन्जाडे ,अखिल नेपनल शिक्षक संगठनका अध्यक्ष नवराज पोख्रेल , अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गोविन्द क्षेत्री , शिक्षक रामकला भट्टराई , गिता आचार्य , रोमा पाण्डे खनाल , माधव आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । 

 

 



तस्बिर: जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीबाट

 

जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ। 

अन्य समाचारहरु