कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । साउन महिनाको अन्तिम सोमवार अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा घुईंचो लागेको थियो ।
साउन महिनाभर हरेक सोमवारको दिन पुजाआजा हुदै आएको यस मन्दिरमा आज अन्तिम सोमवार अन्य सोमवारको तुलनामा धेरै भत्तजनहरुको घुईचो थियो । महिला हरुले विशेष महिनाको रुपमा लिदै आएको साउन महिनामा यो बर्ष ५ ओटा सोमवार परेकोले झनै महत्वपुर्ण रहेको हो ।
साउन महिनालाई हिन्दु नारीले चाडकै रुपमा मनाउँदै आएका छन् । हत्केलाभरी बुट्टेदार मेहेन्दी लगाउनु, दुबै हातमा हरियो, रातो पहेंलो चुरा, हरियो पहिरन साउन महिनामा महिलाहरुले लगाउने विशेष सामग्री हो ।
यसका साथै यो महिनाले आफ्नै धार्मिक महत्व बोकेको छ । पौराणिक मान्यता अनुसार साउन महिना शिव भगवानको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गएको हो ।
विवाहित होस् वा अविवाहित, यो महिना सबै नारीहरुको लागि विशेष बन्ने गरेको छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा-आरधना गरि ब्रत बस्ने गरिन्छ । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा-आराधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खाँदैनन् ।
हुन त साउन महिनामा हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन तर पनि यो परम्परालाई हाम्रा पिता पुर्खादेखि मान्दै आइएको छ । यो महिनाभरी धेरै महिलाहरुलाई हरियो चुरा, हरियो लुगा र हत्केलाभरी मेहेन्दीले सजिएको देख्न सकिन्छ जसले हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुँदै गरेको बुझ्न सकिन्छ ।
बिबाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्व बढी नै छ । एक त विवाहित भएपछि हरेक महिला एउटा भएपनि चुरा लगाएर हिड्छन् । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई पनि सुन्दर बनाइदिन्छ । पहिरनको रंगसंग मिल्ने काँचका दर्जनौ चुरा लगाउदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ ।
त्यसकारण आफ्नी श्रीमती वा प्रेमिकालाई यदि साउन महिनामा खुसी पार्नु छ भने उनीहरुलाई उनीहरुको हातमा मिल्ने हरियो रङको चुरा उपहारमा दिन सक्नुहुन्छ । विवाहित पुरुषहरुले आफ्ना श्रीमतीलाई हरियो चुरासँगै रातो र पहेंलो रङको चुरा पनि मिक्स गरेर उपहारस्वरुप दिन सक्नुहुन्छ । यसका साथै हरियो रङको कुर्ता अथवा टप्स पनि तपाईंले उपहारमा दिन सक्नुहुन्छ । यससँगै हरियै रङको टिका र हरियो, रातो वा पहेंलो पोतेले तपाईंकी श्रीमतीको सुन्दरतालाई थप निखार्न मद्दत गर्दछ । आफ्नी महिलालाई तपाईंले हरियो नङ पालिस पनि उपहारमा दिन सक्नुहुन्छ । यदि श्रीमती अथवा प्रेमिकालाई मेहेन्दीप्रति रुची छ भने उनलाई मेहेन्दीको कोन पनि उपहारस्वरुप दिन सक्नुहुन्छ ।
बजारमा प्रतिदर्जन १०० देखि १ हजार रुपैयाँसम्मका चुरा उपलब्ध छन् भने काबेरी, खुश्बु, सहेली, राजस्थानीलगायत ब्राण्डका मेहेन्दी पाइन्छन् । यी मेहेन्दीको मूल्य प्रतिप्याकेट ४५ देखि ७५ रुपैयाँसम्म पर्ने गर्दछ । यो महिनामा हरियो र पहेलो पहिरनलाई महिलाहरुले विषेश प्रयोग गरेको पाईन्छ ।