कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । पाणिनी बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक सुधारको उदेश्यले जेठ २५ गते देखी ३२ गते सम्म सन्धिखर्क टुडिखेलमा संचालन गरिएको अर्घाखाँची पाणिनि धार्मिक महोत्सवमा महत्वपूर्ण सहयोग पुर्याउने बिद्यार्थी एवं अन्य स्वयमसेवकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
सात दिन सम्म चलेको अर्घाखाँची पाणिनि धार्मिक महोत्सवमा स्वयमसेवकको भुमिकाबाट महत्वपुर्ण सहयोग पुर्याएको भन्दै सामुदायिक रेडियो अर्घाखाँची संचालक समितिका कोषाध्यक्ष जिवनारायण खनाल, लालमणी भुसाल, हरी प्र्रसाद दमासे लगायत ६ जनालाई कदरपत्र सहित सम्मान गरीएको हो । यस्तै कार्यक्रममा महत्वपुर्ण सहयोग पुर्याउने बिभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेता तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सम्मान पत्रले सममान गरिएको छ ।
धार्मिक महोत्सव बाट २ करोड ५० लाख रुपैयाँ संकलन भएको छ । जिल्लाकै सबै भन्दा पुरानो क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तरका लागि आयोजना गरिएको महोत्सवमा दाताहरुको नगददान, भूमिदान, तुलादान, व्रतवन्ध, रुध्री पूजा, १ हजार ८ शालिग्राम परिक्रमा मार्फत रकम संकलन भएको हो । महोत्सवमा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोविन्द शरण महाराजले कथा बाचन गरेका थिए । उनीसँगै रहेका कलाकारको टोलीले महोत्सव अवधि भर निकै मनोरञ्जन दिलाएको थियो । विभिन्न खाले भजनबाट भक्तजनले आनन्द लिएका थिए ।
क्याम्पस सञ्चालनमा निकै समस्या आएपछि धार्मिक महोत्सवको आयोजना गरिएको हो । महोत्सवबाट अपेक्षा अनुसारको रकम संकलन गर्न सफल भएको क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताए । अपेक्षाकृत रकम संकलन भयो उनले भने, केहि रकम अझै संकलन हुँदैछ । उनले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति धन्यवाद दिँदै क्याम्पसले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
सम्मान कार्यक्रममा मन्तव्य राख्दै स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले पाणिनि क्याम्पसलाई नमूना कयाम्पसको रुपमा परिणत गर्नु पर्ने भन्दै यसका लागि शैक्षिक र भौतिक गुणस्तर अत्यावश्यक भएको बताए । महोत्सवबाट संकलित रकम सहि ठाउँमा सदुपयोग गर्नु पर्छ उनले भने, महोत्सवले क्याम्पस सञ्चालनमा ठूलो टेवा पुग्ने देखिन्छ ।
महोत्सवका सभापती समेत रहेका नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले पाणिनि क्याम्पसमा धेरै संकायको पढाइ थाल्नु पर्छ, भन्दै यसले बाहिरी जिल्लामा गएर धेरै खर्च तिरेर पढनु पर्ने वाध्यता टर्ने बताएका छन् । महोत्सवको विषयलाई लिएर धेरै नकारात्मक टिकाटिप्पणि पनि भए उनले भने, नकारात्मक टिप्पणिलाई गलत सावित गर्दै महोत्सव सम्पन्न गयौं । पाणिनी धार्मिक महोत्सवले क्याम्पसलाई धेरै ठूलो राहत मिलेको भन्दै अझै सहयोगको जरुरत भएको बताए । क्याम्पसका भवनहरु निर्माण गर्न करोडौं रुपैयाँको अझै खाचो छ उनले भने, संकलित यो रकमले तत्कालको समस्या समाधान गरेको छ । २६ जना प्रध्यापक र अन्य ६ जना कर्मचारी गरि ३२ जना क्याम्पसमा कार्यरत छन् । स्नातक तहमा व्यवस्थापन, शिक्षा र मानविकिका कक्षा सञ्चालन हुन्छन् भने स्नातकोत्तरमा नेपाली र स्वास्थ्य विषयको पढाइ हुने गरेको छ । २०४५ सालमा स्थापना भएको क्याम्पस जिर्ण बन्दै गइरहेको छ । भूकम्पका कारण जिर्ण भवन चर्किएका छन् । निमार्णिधन नयाँ भवन रकम अभावका कारण अलपत्र परेको छ । धार्मिक महोत्सवको आयोजना मार्फत रकम संकलन भएपछि क्याम्पस सञ्चालनमा सहजता आउने धेरैको बुझाइ रहेको छ ।
कार्यक्रममा ने.क.पा.एमालेका का.वा.अध्यक्ष जिवनारायण कोइराला,ए माओवादीका जिल्ला सचिब ठाकुर कुमार बि.क.,राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी.,अ.ने.रा.स्व.वि.यू क्याम्पस कमिटी अध्यक्ष नविन के.सी., अ.ने.रा.स्व.वि.यू (छैठौँ)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई ,अखिल क्रान्तिकारी का लक्ष्मण खड्का, अखिल क्रान्तिकारी का कुलराज बन्जाडे लगायतको सहभागिता रहेको थियो ।