शोभाखर पन्थी
नुवाकोट, अर्घाखाँची । दिनदाहाडै गाउँमा आएर बाघले आतंक मच्याउन थालेपछि अर्घाखाँचीको नुवाकोटका बासिन्दा आतंकित बनेका छन् ।
नुवाकोट – ४ चिउरामाटीमा २० दिन यता नरभक्षी बाघ आई बालबालिका तथा चौपायमाथी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका हुन् ।बाघले २० दिनको अबधिमा गाउँमा आई २ दर्जन बाख्रा खानुको साथै २ जना बाल-बालिका लाइ आक्रमण गरी घाइते समेत बनाएको छ ।
बाघको आक्रमणमा परी ६ बर्षका नयन गैरे र ११ बर्षकी अस्मिता गैरे सख्त घाइते हुनुभएको छ । बाघले ५ दिनको फरकमा दुबै बालबालिका लाई घरमै आएर आक्रमण गरेको स्थानीय समाजसेवी चेतनारायण गैरेले वताउनुभयो ।अघिल्लो बर्ष साँझ ५ बजे नै गाउँका २ जना बालबालिका लाई खाएको बाघले यसपटक पनि गाउँमा आएर आतंक मच्चाउन थालेपछि स्थानिय बासिन्दा निकै चिन्तित बनेका छन् ।
दिनदाहाडै गाउँमा बाघ हिड्न थालेपछि विद्यालयमा विद्यार्थी समेत कम आउन थालेको यसोधरा निम्न माध्यमिक विद्यालयका प्र.अ.बाबुराम खनालले बताउनु भयो । गाउँमै रहेको सरस्वती प्रा.वि.मा पनि करीब २५ प्रतिशत विद्यार्थीको उपस्थिति घटेको छ । बाघको विग विगी बढेपछि स्थानिय बासिन्दा घर बाहिर निस्कन समेत डराउन थालेका छन् । बारीमा मकै बढेकाले बाघ घर नजिकैको बारीमा लुकेर बस्दापनि देख्न नसकिने हुँदा स्थानिय बासिन्दा निकै त्रसित भएका छन् ।
बस्तुभाउ पालेका स्थानिय बासिन्दालाई खरबारीमा गएर घाँस काट्नुपर्ने छ ।तर बाघको डरले खरबारीमा जान निकै डरलाग्छ स्थानिय शान्ता गैरेले बताउनु भयो । बाघ आतंक बढ्दै गएपछि स्थानिय बासिन्दाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई भेटगरी जिउधनको रक्षाको लागि आग्रह गरे । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरे । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे स्थानिय बासिन्दा गाउँ छाड्न बाध्य हुने एमाले क्षेत्र नम्बर २ का अध्यक्ष डिल्लीराज गैरेले बताउनु भयो ।आफुहरुले पटक-पटक आग्रह गर्दापनि कुनै निकायले चासो नदेखाएको उहाँको गुनासोे छ ।