वीरेन्द्र केसी
बल्कोट, अर्घाखाँची । गाउँ बल्कोट स्थित महेन्द्र विद्याबोध उमाविमा पढने सिता पाण्डे स्कुल नगएको एक महिना भैसक्यो । विद्यालय नजानु आर्थिक अवस्था कमजोर भएर होईन न त विद्यालय टाढा भएरै । बाँदरले पढनबाट वञ्चित बनायो ।
सन्धिखर्क -१३ को गच्छेगैरा टाकुरामा बाँदरहरु लखट्न जंगल बाटोमा बसेका स्थानियहरु ।
उनलाई यतिबेला पढाईको भन्दा बाँदरको चिन्ता बढी छ । बारीमा पाक्दै गरेको मकै जोगाउन हातमा गुलेली, ढुंगा र लाठी लिएर दिनहु चौकीदारी बस्नु पर्दा स्कुल जान नपाएकी हुन । बाँदरको ठुलो बगाल छ, उनले भनिन, यसरी नबस्ने हो भने मकै खाईदिन्छ अनि अन्न भएन भने भोकै स्कुल जान सकिदैन । बाँदरले मलाई हेरेको हुन्छ मैले बादरलाई हेरेर बस्छु बारीमा आउन नदिन हातमा गुलेली तन्काएर हान्ने तयारीमा बस्छु, उनले भनिन ।
मकै थन्काएपछि मात्र स्कुल जाने उनले बताए । पाण्डे एउटा उदाहरण पात्र मात्रै हुन । बल्कोट, चिदिका, केरुगा, खिदिम, मैदान, वाङला लगायत जिल्लाभर बाँदरको बिगबिगी वर्षेनी बढेपछि स्कुल जान छाडेर बाँदर धपाउन बारीमा बस्ने विद्यार्थी धेरै छन । संख्या बढदै गएपछि गाउँभर फैलिदै गएको छ । दुःख गरेको उत्पादन गरेको अन्न बाँदरको हातबाट गाउलेलाई धौ-धौ परेको छ ।
स्कुल जान छाडेर बाँदर धपाउन बाध्य छौ, अर्का विद्यार्थी रामु खनालले भने, किताब झोलामा थन्क्याएको छु गुलेली हातमा लिएर चौकीदारी बसेको छु । संख्या धेरै भएपछि एक- दुई जना मान्छेलाई टेर्दैन । छिनभरमै मकै सखाप पार्छ । हिउदमा गहुँका बाला खाईदिने गर्छ । बाह्रै महिना बारीमा अन्न पाक्ने बेला स्कुल जान नपाईने उनले बताए ।
बाँदरले त हैरानै बनायो, बल्कोटका पिताम्बर खनालले भने, विहान देखी साँझसम्म बारीमा बस्नुपर्छ । परिवारमा धेरै सदस्य हुनेका आलोपालो गर्छन । थोरै हुनेका बारीमै खाना पकाएर खान्छन् । धपाउन नसकेर चार घरले खेती गरेको मकै खाईदिएर रित्तै बनाईदिएको उनले बताए । छुटाछुटै चार बगालमा एक हजारभन्दा बाँदरको संख्या चिदिका, बल्कोट र केरुगामा रहेको खनालले बताए । नियन्त्रणको लागि गाउँलेले नसकेपछि बल्कोट स्थित प्रहरी चौकीमा गुहार माग्यै तर प्रहरीले गाली हानेर मार्न पाईदैन भनेपछि अब सिडिओ र डिएसपीसँग गुहार माग्ने जाने तयारीमा रहेको उनले बताए । बाँदरले फल्दै गरेका मकै मात्र होईन घर भित्र पसेर पकाएको खाना खाईदिने, अन्नपात लगायत सामान फालिदिने च्यात्ने र मान्छेलाई समेत आक्रमण गरेपछि गाउँले आतंकित छन । घरमा एक जना र बारीमा एक जना हेरालु बस्नु परेको हो । उनका अनुसार दस वर्ष अघि एक-दुई देखा परेको थियो अहिले बढदै गएर मान्छेको जनसंख्या भन्दा बाँदरको धेरै भएको बताए ।
धपाउन चार-पाँच जनाको समुहमा बारी र गाउँमा बाँदर आउने बाटो छेकेर बस्ने गरेको खिदम ढावाका राम गौतमले बताए । आतंक्रै मच्चाएको छ, उनले भने, लाठी र हातमा गुलेली लिएर चौकीदारी बस्नुपर्छ । ठुलो समुह भएकाले कहिलेकाहि बाँदरसँग धेरै पटक भीडन्त पनि भएको छ । मकैको बोटको घुघा च्यात्न खोज्छ हामी लाठिले प्रतिकार गर्छौ, उनले भने, लाठी भाचिएपछि धेरै पटक आक्रमण परेको र भागेको छु । ठुलो बगालले छिन भरमै मकै सखाप पार्ने भएकाले मकै जोगाउन संकट परेको बताए । वाङलाका धर्म अधिकारीले वन छेउको तीन रोपनी बारीमा बेसार लगाएका छन । बाँदरकै कारण मकै जोगाउन नसकेपछि बेसार लगाएको उनले बताए ।