अष्ट्रियामा आप्रवासीहरु रहेको भनिएको एक ट्रकमा कम्तीमा पनि ७० वटा शव भेटिएका छन्। समाचारअनुसार सुरुमा उक्त ट्रकमा आप्रवासीका २० देखि ३० वटा मात्र शव रहेको अनुमान गरिएको थियो ।
Photo: AFP
तर पनि शुक्रबार बिहान त्यसमा रहेका शवको सङ्ख्या ७० रहेको पाइएको छ । अष्ट्रियाको एक मोटरबाटोमा उक्त ट्रक पाइएको थियो । अष्ट्रियाको सरकारले शुक्रबार बिहान दिएको जानकारीअनुसार राजमार्गमा अलपत्र छोडिएको सो ट्रकमा ती शव भेटिएका हुन् ।
अष्ट्रियाको गृहमन्त्रालयका प्रवक्ता अलेक्जेण्डर मार्कोभित्सले सो सङ्ख्याको पुष्टि गरेका हुन्। उनले एएफपीका समाचारदातालाई दिएको समाचारअनुसार उक्त ट्रकमा ७० वटा शव रहेका छन्।
ती आप्रवासीको पहिचानका बारेमा कुनै पनि समाचार दिइएको छैन । उनीहरुको देश एवम् लिङ्गका बारेमा पनि कुनै नबताइएको समाचारमा उल्लेख गरिएको छ।
तर शुक्रबारै अष्ट्रियाको गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेकोले सो विषयमा सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ । उक्त क्षेत्र हङ्गेरीको सीमा नजिकै रहेकोले हङ्गेरी र अष्ट्रियाको प्रहरीले सामुहिक रुपमा अनुसन्धान जारी राखेका छन् ।
उता जर्मन चान्सलर एन्जेला मार्केल पनि अष्ट्रियामै रहेकी छन्। उनले आप्रवासी एवम् शरणार्थीहरुको कानुन निर्माणका लागि पहल गरिरहेका बेला आप्रवासीहरुको यो समस्या आएको छ ।
मार्केलले यो घटनाबाट पाठ सिकेर आप्रवासीहरुको कानुन निर्माण र उनीहरुको व्यवस्थापनका लागि गम्भीर रहन सबैसँग आग्रह पनि गरेका छन्। रासस/एएफपी