अर्घाखाँचीका कच्ची सडकहरु वर्षाको कारण बिग्रीएपछि सर्वसाधारणहरुलाई सास्ती , गाडी धनी मालामाल, यात्रु मर्कामा

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची  । बर्षायाममा अर्घाखाँचीका गाउँगाउँमा पुगेका कच्ची सडकहरु वर्षाको कारण बिग्रीएपछि सर्वसाधारणहरुलाई सास्ती भएको छ ।

 



ढिकुरा हुँदै सन्धिखर्क जादै गरेको जिप ।

 

सडकको नमुना जिल्लाको रुपमा चिनिएको अर्घाखाँचीका गाउँ-गाउँमा सडक पुगेपनि वर्षायाम सँगै गाडी चल्न छाडेपछि यात्रुलाई सास्ती भएको हो । यतिबेला जिल्लाका गाउँ-गाउँमा गाडी नियमित गुड्न सकेका छैनन् भने गाडी चलेपनि यात्रुले झण्डै दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् । 

 



सन्धिखर्कको गच्छेखोला माथि ढिकुरा जाने बाटोमा पहिरो जाँदा ।

 

पेट्रोलियम पदार्थको मुल्य घटिरहेको बेला गाडी भाडा घट्नुको सट्टा दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएको धनचौर गाविस की रामकला भट्टराईले गुनासो गर्नु भयो । गच्छे- भालुवाङ्ग सडक खण्डको सन्धिखर्क देखि धनचौरको गाडी भाडा १६० कायम गरिएको भएपनि अहिले गाडी नियमित नजाने र गैहाले पनि ३०० रुपैया भाडा लिने गरेको उहाँले बताउनु  भयो । 

 



गच्छे- भालुवाङ्ग सडक खण्डको अन्तर्गत गच्छेखोलामा बन्दै गरेको पुल ।

 

जिल्लाका ढाकावाङ्ग, हंसपुर ,खन ,खनदह, सुर्वणखाल, पणेना पटौटी लगायतका सवै ग्रामिण सडकहरुमा तोकिएको भाडाभन्दा ४0-५० रुपैया भाडा बढी लिने गरिएको छ । यसरी हरेक बाटोहरुमा तोकिए भन्दा बढी भाडा यात्रुहरुबाट असुल्न थालेपछि गाडी धनिहरु मालमाल भएका छन् भने यात्रुहरु मर्कामा परेका छन् । 



आर्थिक बर्ष सकिनै लाग्दा बजेट फ्रिज जाने डरले बैशाख र जेठमा सडकको काम गर्ने प्रवृति बढेकाले पनि कामको गुणस्तरियता माथी शंका उव्जने गरेको छ । वर्षायाममा सुरु हुने समयमा निर्माण गरिएका सडक एक दुई महिनामै पानीले विगार्दीएपछि सडकका योजना प्रभावकारी हुन सकेका छैनन् । 

 



सन्धिखर्कको गच्छेखोला माथि ढिकुरा जाने बाटोमा पहिरो जाँदा ।

 

सडकको ट्रयाक खोल्ने काम सकिएपछि सम्बन्धित पक्षले फर्किएर नहेर्दा कच्ची सडकमा लामो समय गाडी गुड्न नसकेका हुन् । अर्घाखाँचीका ठाउँठाउँमा नयाँ सडक खोल्नु भन्दा पनि खोलिएका सडकलाई स्तरउन्नती गर्नु नै अहिलेको आवश्यकता र जन चाँसोको विषय हो । 



बिग्रिएका सडकलाई मर्मत नहुदा वर्षायाम सँगै सडक अवरुद्ध हुदा विरामीको उपचारमा समेत समस्या आएको गाउँलेहरुको गुनासो छ ।  वर्षायाममा काम थालेर योजनाको पैसा सक्नु मात्र भन्दा पनि हिउँदमै सडक निर्माण गर्ने र वर्षायाममा भत्किएका बाटो खुलाउने तर्फ सम्बन्धित पक्षले ध्यान दिएमा अर्घाखाँचीका गाउँ-गाउँमा खोलिएका सडक नमुना सडक बन्न सक्दछन् । 

 

अन्य समाचारहरु