चाडमा इस्लामिक लडाकु समूह बोको हरामका दश जना सदस्यलाई मृत्युदण्ड

अफ्रिकी मुलुक चाडमा इस्लामिक लडाकु समूह बोको हरामका दश जना सदस्यलाई मृत्युदण्ड दिइएको छ ।
राजधानी जामिनामा भएको सुनुवाईका क्रममा दोषी पाएको भोलिपल्टै उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।
ती लडाकुलाई जामिनाको उत्तरी क्षेत्रमा बिहानै गोली हानी मृत्युदण्ड दिइएको चाडको सुरक्षा स्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गत जुनमा ३८ जना मारिने गरी जामिनामा गराइएको दुई वटा आक्रमणमा बोको हरामका ती लडाकुको संलग्नता रहेको पाइएको थियो ।
उक्त आक्रमणको एक महिना पछि नै चाडमा आतंकवादमा संलग्नलाई मृत्युदण्डको सजायँ दिइने कानूनी व्यवस्था फेरि सुरु गरिएको थियो ।
नाइजेरियामा बोको हरामले नियन्त्रणमा दिएका विभिन्न क्षेत्र सरकारी नियन्त्रणमा ल्याउन चाडले नाइजेरियाको उत्तरी बोर्नो राज्यमा आफ्ना सेना पठाएको छ ।
यसपछि छुट्टै इस्लामिक राज्यको लागि संघर्षरत बोको हरामले चाडमा आक्रमणको चेतावनी दिएको थियो । (एजेन्सी)