चीनका राष्ट्रपति शी जिनपिङले सेनामा कटौतीको घोषणा

चीनका राष्ट्रपति शी जिनपिङले सेनामा कटौतीको घोषणा गरेका छन् । दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले चिनियाँ सेनामा तीन लाखको संख्यामा कटौती गर्ने घोषणा गरेका हुन् ।
चीनको पिपुल्स लिबरेशन आर्मी संख्यात्मक हिसाबले विश्वकै सबैभन्दा ठूलो सेना मानिन्छ । चीनमा लगभग २३ लाख सैनिक छन् । चिनियाँ सेनाको वार्षिक बजेट १४१ अर्ब डलर छ जो विश्वमै दोस्रो ठूलो सैन्य बजेट हो ।
दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा चीनले बेइजिङमा विशाल सैन्य परेड आयोजना गरेको छ ।
राजधानी बेइजिङको तियानमैनमा हुने सैन्य परेडमा १२ हजारभन्दा बढी सेनाले सैन्य कौशल प्रस्तुत गरेका छन् ।
कार्यक्रममा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, दक्षिण कोरिया, पाकिस्तान, क्युवालगायत बिभिन्न ३० देशका प्रतिनिधी बेइजिङ पुगेका छन् ।
७० वर्षअघि ३ सेप्टेम्बरकै दिन दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले चीनका सामू हार स्वीकार गरेको थियो । (एजेन्सी)