अफ्रिकी मुलुक क्यामरुनमा भएको छुट्टाछुट्टै विस्फोटमा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । केही संचारमाध्यमले नीजि स्रोतलाई उद्धृत गर्दै ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।
विस्फोटमा परी १४० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
क्यामरुनको उत्तरी इलाका केरावामा विस्फोट भएको हो । पहिलो विस्फोट सेनाको क्याम्पनजिक र अर्को बिस्फोट बजार क्षेत्रमा भएको जनाइएको छ ।
एक सरकारी स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार महिला आत्मघाती हमलाकारीले सो विस्फोट गराएको हो ।
सो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । नाइजेरियामा सक्रिय रहेको आतंकवादी समूह बोको हराम पछिल्लो समय क्यामरुनमा पनि सक्रिय हुन थालेको छ । सन् २००२ देखि सक्रिय भएको बोको हराम पश्चिमी शिक्षा पद्धतिको विरोधमा आतंकवादी गतिविधि गर्दै आएको छ । (एजेन्सी)