अष्ट्रिया र जर्मनीले आप्रवासीलाई शरण दिने निर्णय गरेका छन् ।
ती दुई देशले आप्रवासीलाई आफ्नो देशमा भित्र्याउन हंगेरीसँगको सीमा खोल्न सहमति जनाएका छन् । अष्ट्रियन चान्सलर वेर्नर फाइमानले आफ्नो देश र जर्मनी आप्रवासीलाई प्रवेश दिन हंगेरीसँगको सीमा खोल्न तयार भएको जानकारी दिएका हुन् ।
यो निर्णयसँगै अष्ट्रियन सीमामा आप्रवासीको भीड लागेको छ । युरोपियन राष्ट्रहरु आप्रवासी समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा जुटेका छन् । सीमा क्षेत्रमा आप्रवासीलाई लिन थुप्रै बस पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसअघि, संयुक्त राष्ट्रसंघले विकराल बन्दै गएको आप्रवासी समस्या समाधानका लागि दुई लाख आप्रवासीलाई युरोपियन युनियनआवद्ध राष्ट्रले शरण दिनैपर्नेमा जोड दिएको थियो ।
राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख एन्तोनियो गुतेरसले विकराल बनेको आप्रवासी समस्या समाधानका लागि इयुले पूर्णरुपमा शक्ति परिचालन गर्नैपर्ने उल्लेख गरेका हुन् । (एजेन्सी)