हजारौं आप्रवासीलाई अष्ट्रिया र जर्मनीमा स्वागत

हंगेरीमा केही दिनदेखि अपलपत्र परेका हजारौं आप्रवासीलाई अष्ट्रिया र जर्मनीले आफ्नो मुलुकमा स्वागत गरेका छन् ।
अष्ट्रियाको सीमामा स्वंयसेवकहरुले करिब १० हजार आप्रवासीलाई स्वागत गरेपछि आप्रवासी भियना र जर्मनीको म्यूनिख प्रस्थान गरेका छन् ।
हंगेरीमा अलपत्र परेका आप्रवासीलाई अरु यूरोपेली मुलुक जानबाट रोक्दा आप्रवासीको अत्याधिक चापले राजधानी बुडापेष्टको अर्थव्यवस्था धरासायी हुन पुगेको थियो ।
मध्यपूर्व र अफ्रिकी मुलुकका आप्रवासीको लगातारको प्रवेशबाट यूरोपमा श्रृजित समस्यालाई उजागर गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । आप्रवासीले अष्ट्रिया र जर्मनी जाने अडान लिइरहेका थिए ।
यसपछि शुक्रबार मात्र हंगरीले आप्रवासीका लागि अष्ट्रियासँगको सीमा खोलेर उनीहरुलाई त्यहाँसम्म पुग्न बसको व्यवस्था गरेको हो । अष्ट्रियाले पनि आप्रवासीलाई आउन नरोक्ने जनाएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले मुलुकको बजेटमा कुनै असर नपर्ने गरि आप्रवासीलाई ध्यान दिन सकिने स्पष्ट पार्नु भएको छ ।
जर्मनीले यो वर्ष ८ लाख आप्रवासी राख्न सकिने जनाएको छ । पछिल्लो समय हंगेरी, मध्यपूर्व र अफ्रिकाबाट पलायन भएका हजारौं आप्रवासी यूरोपका विभिन्न मुलुक पुग्ने मुख्य मार्ग बनेको छ ।
यूरोपियन यूनियनका विभिन्न मुलुकमा यो वर्ष अहिलेसम्म ३ लाख ५० हजार आप्रवासी प्रवेश गरिसकेका छन् । (एजेन्सी)