हंगेरीबाट पश्चिम यूरोप जाने आप्रवासीको यात्रा सरल गर्नका लागि गरिएको आपतकालीन व्यवस्था अब क्रमशः अन्त्य गरिने अष्ट्रियाले जनाएको छ ।
यही आपतकालीन व्यवस्थाकै सहयोगमा हंगेरीमा रोकिएका हजारौं आप्रवासी अष्ट्रिया र जर्मनी पुगेका छन् । अष्ट्रियाका चान्सलर वर्नर फेमैनले आप्रवासी समस्या सुल्झाउन गरिएको आपत्कालीन उपायहरु अब क्रमशः अन्त्य गरिने बताए ।
अर्कोतर्फ एक सानो डुंगाबाट ग्रीस जाँदै गरेका ११४ सिरियाली आप्रवासीलाई साइप्रस नजिकैको समुद्री किनाराबाट बचाइएको छ । बढीजसो आप्रवासी जर्मनी पुगेका छन् । यद्यपी, जर्मनीले आप्रवासीलाई सघाउने आफ्नो इच्छाको गलत फाइदा नउठाउन चेतावनी दिएको छ ।
पछिल्लो समय मध्यपूर्व र अफ्रिकाबाट हजारौं आप्रवासी यूरोपका विभिन्न मुलुकतर्फ पलायन भएका छन् । (एजेन्सी)