मुम्बईको लोकल रेलमा सन् २००६ मा भएको शृंखलाबद्ध विस्फोटमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएका १३ जनामध्ये १२ जनालाई अदालतले दोषी ठहर गरेको छ ।
शुक्रबार अदालतले फैसला सुनाउँदै १२ जनालाई दोषी ठहर गरेको हो । अदालतले एहतेशाम सिद्दिकी, कमाल अन्सारी, फैजल शेख, तनवीर अहमद अन्सारी, मोहम्मद माजिद शफी, शेख आलम शेख, मोहम्मद साजिद अन्सारी, मुजम्मिल शेख, सोहेल महमुद शेख, जमिर अहमद शेख, नवेद हुसेन खान र आसिफ खानलाई दोषी ठहर गरेको हो । अब्दुल वाहिदलाई भने अदालतले निर्दोष ठहर गरेको छ । उनीमाथि पाकिस्तानी आतंकवादीलाई संरक्षण गरेको आरोप लगाइएको थियो ।
११ जुलाई, २००६ मा मुम्बईको लोकल रेलमा शृंखलाबद्ध विस्फोट भएको थियो । विस्फोटमा १८९ जनाको मृत्यु भएको थियो भने ८२४ जना घाइते भएका थिए ।
मुम्बईको पश्चिम रेलवेको उपनगरीय रेलमा ११ मिनेटको अन्तरालमा सातवटा विस्फोट भएको थियो ।
अदालतको फैसलापछि सरकारी वकिलले १२ जना दोषी ठहर भएको जनाएका हुन् ।
दोषी ठहर भएकाहरुलाई सजाय तोकिएको छैन । सजायबारे सोमबार बहस हुने जनाइएको छ । (एजेन्सी)