अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । किमडाँडा र कुर गाउँमा ढेड वर्षको अवधीमा चितुवाको आक्रमणमा नौ बालवालिका परे । त्यसमा ६ जनाले ज्यान गुमाए । कतिबेला आक्रमणमा परिन्छ भन्ने गाउँले डरले त्रसित छन् । गत विहीबार मामा घर कुर आएकी नरपानीकी स्मृती केसी आक्रमणमा परिन । उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । उनी अझै बेहोस रहेको अभिभावक पदम केसीले बताए । चितुवाले उनको घाँटी र टाउकोमा नग्रा गाडेको थियो । गत वर्षको कार्तिकयता देखा नपरेपछि शान्त भएका गाउँले केसी माथि फेरी आक्रमण गरेपछि त्रसित छन् । 
अघिल्लो वर्षको वैशाखमा नुवाकोटका ३ वर्षीय नारायण नेपाली, ६ वर्षीय उमेश नेपाली,  किमडाँडाका २० महिने युवराज मरासीनि, जेठमा कुर गाउँका दुई वषीय सुरेस आचार्य, भदौमा किमडाँडाकी सात वर्षीय सुजाता विक र ४ वर्षीय सुशान्त नेपाली आक्रमणबाट मारिए । कुरका २ वर्षीय जीवन सुनार घाईते भए । साँझ पर्नासाथ एक्लै हिडडुल गर्न गाउँले छाडेका छन ।  कतिबेला आक्रमण गर्छ  भन्ने मनमा त्रास भैरहन्छ, कुरका ईश्वरी पसाद भुसालले भने, गोठ छेउमा बाख्राको पाठोलाई आक्रमण गर्न खोजेको थियो मैले देखेर चिच्याए र चितुवा भाग्यो अलि पर गएर आगनमा खेलिरहेकी स्मृतीलाई आक्रमण गरेछ ।
 डेढ वर्ष देखि निरन्तर यस क्षेत्रमा चितुवाले ठाउँ नछाडेपछि विहान र बेलुका मात्रै होईन दिउसोमा पनि बारीमा मकै झिक्न, तरकारी टिप्न र घाँस काटन समेत एक्लै नसकेको उनले बताए । घर छेउमै जंगल सहितको सामुदायिक वनमा बस्ने उनको आशंका छ । अहिले मकै बारी भित्र चितुवा बस्न सक्ने भएकाले बारी भित्र पस्न डर लागिरहेको उनले बताए । साँझ नपर्दै ढोका लगाएर घरभित्रै बस्ने र रातीमा दिसा पिसाव पनि घरभित्रै गर्नु बाध्यता भएको गाउँलेले बताए । आक्रमण गर्न आउने चितुवाबाट जोगिन साँझ पर्ने वित्तिकै गाउँलेले शंख, बाजा, सनाई, गाग्री ताउला थाल बजाउने गर्छन । 
गाउँमा त्रास छ, स्थानीय नारायण केसीले भने, दिउँसै बाटो, खेतबारीमा बसेको देखिन्छ, मान्छे र पशु देख्ने वित्तिकै झम्टिन आउन खोज्छ । साँझको बेला घरमा आएर मान्छे र गाईवस्तु माथि पर्ने गर्छ । त्यसबाट जोगिन कुर, खाँची  गाउँमा सनाई, बाजा, मादल गाग्री ताउला, थाल बजाएर हो-होलल्ला गरेर आक्रमण हुनबाट जोगिने गरेको उनले बताए । दिउँसोको बेला खेतबारीमा घाँस दाउरा काटन, मेलाको काम गर्न र हिडडुल गर्न डर लाग्छ कतिबेला झ्वाम्म आक्रमण गर्ने हो थाहा हुदैन् गाउँलेले बताए । गाउँलेले प्रहरी प्रशासनसँग गुहार मागेका छन । 
सहायक जिल्ला वन अधिकृत मदनप्रसाद ढुंगानाले आक्रमण गर्न जंगल छाडेर साँझ विहान खुला ठाउँमा आउन सक्छ यसबाट जोगिन घर उज्यालो बनाई राख्ने र आफै सुरक्षित हुनुपर्ने उनले बताए । अघिल्लो वर्ष गाउँलेले घरेवन्दी गरेपछि प्रहरीले गोली हानेर दुई चितुवालाई मारेको थियो । केही महिना शान्त भएको गाउँ फेरी बालिका माथि आक्रमण गरेपछि त्रास फैलिएको छ । वन कार्यालय, प्रशासन र प्रहरीले नियन्त्रणको लागि चितुवाको खोजी भैरहेको जनाएका छन । यसैबीच गाउँमा चितुवाको त्रास बढिरहेको भन्दै प्रवासी नेपाली चिन्तित भएका छन । अर्घाखाची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले तत्काल नियन्त्रण गरिदिन प्रशासनलाई विज्ञप्ति मार्फत आग्रह गरेका छन । 
 


सन्धिखर्क। तस्बिर: रबी शर्मा

अन्य समाचारहरु