गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । समयमै संघियता बिनाको लोकतान्त्रिक संविधान जारी गर्नको लागी दबाब स्वरुप राष्ट्रिय जनमोर्चाले आज देशभर विभिन्न दबाबका कार्यक्रम सम्पन्न गरेको छ ।
यसैबिच लोकतान्त्रिक संविधान जारी गरौं, संघियताको खारेज गरौं, धर्म निरपेक्षता कायम गरौं, जातिबाद र क्षेत्रियतावादको बिरोध गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कको शान्ति बगैंचामा दबाब सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका क्षेत्रिय उपाध्यक्ष शेर बहादुर वि.सी.ले लोकतान्त्रिक संविधानको बाधक संघियता भएको र संघियता नेपालको हित र नेपाली जनताको चाहना बिपरित भएका कारण संघियतालाई थाति राखेर यथाशिघ्र संविधान निर्माण गर्नुको विकल्प नभएको बताउनु भयो ।
उहाँले तराई लगायतका विभिन्न ठाँउमा भएका आन्दोलनले बालेको आगोपनि संघियताकै उपज भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाले देशका मालिक सम्झने ठुला दलको धेय ब्याक्ति र पार्टीले जित्नुपर्ने भएका कारणले आज देश अनिर्णयको बन्दी बनेको बताउदै दलगत र ब्याक्तिगत स्वार्थ त्यागेर राष्ट्र र जनताको स्वार्थ र हितको लागी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।