गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । पूर्नःनिर्माण र संविधान बाल अधिकारको संरक्षण हाम्रो अभियान मुल नाराका साथ ५१ औँ राष्ट्रिय बाल दिवसको अबसरमा अर्घाखाँचीमा जन्मेदेखी ५ बर्ष सम्मका बालबालिकाहरुको तौल प्रतियोगिता एवम् प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बाल संगठन र जिल्ला बाल कल्याण समिति अर्घाखाँचीको संयुक्त आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले केटाकेटीलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै आजका बालबालिका भोलिका कर्णधार सम्झेर घृणा हैन माया र अवसर दिएर ब्यबहार परिबर्तन गर्नुपर्ने बताएका छन् ।
नेपालमा अझैपनि बालबालिका कुपोषणको शिकार हुनुपरेको भन्दै यसलाई निराकरण गर्न सरोकारवाला सबैले आफ्नो दायित्व सम्झेर काम गर्नुपर्ने वक्ताहरुले बताएका छन् । वक्ताहरुले नेपालमा ४ प्रतिशत बालवालिका रहेको र तिनीहरुको श्रम शोषण भएको भन्दै बालवालिकाको क्षेत्रमा काम गर्ने निकायले ध्यान दिनु पर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कसैले सहयोग गरेनन् भनेर कामै नगर्ने भन्दा पनि आन्तरिक स्रोतको खोजी गरेर भएपनि बालवालिकाको हितमा काम गर्न सबैको दायित्व भएको बताउनु भएको छ । नराम्रो पक्षलाई हेरेर पछि हट्न नहुने भन्दै नेपालमा बाल मृत्यु दरमा धेरै कमी आएको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल बाल संगठनका जिल्ला अध्यक्ष देवराज श्रेष्ठले जिल्लाकै मुटु सन्धिखर्कमा रहेको एकमात्र बालमन्दिर संचालनको निम्ति आर्थिक स्रोत अभाव भएकाले अगाडी बढ्न निकै अप्ठ्यारो भएकोले सरोकारवालालाई ध्यानकार्षण गराउनु भयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले धनसिंह धामी, प्रहरी नायव उपरिक्षक कमल प्रसाद खरेल, नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका जिल्ला सचिव राम बहादुर चौहान, एनेकपा माओवादी जिल्ला कोषाध्यक्ष छम कुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, राप्रपाका जिल्ला अध्यक्ष देवी बहादुर खड्का, नेकपा माओवादीका नेता कृष्णहरी भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका नेता इन्द्र बहादुर गेलाङ्ग लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैबीच राष्ट्रिय बाल दिवसकै अवसरमा गरिएको वाल स्वास्थ्य तौल प्रतियोगीतामा जन्मेदेखि १ वर्षसम्मका बालवालिकाहरुमा भगवति चौहानका ८ महिनाका छोरा जेनिस चौहान प्रथम, सीता बञ्जाडेका ७ महिनाका छोरा रोहित बञ्जाडे द्वितिय, तृथा श्रेष्ठकी छोरी रिजु श्रेष्ठ तृतिया भएका छन् । यस्तै १-३ वर्षसम्मका बालवालिकाहरुमा बिमला भण्डारीका २४ महिनाका छोरा विधान भण्डारी प्रथम, मिना नेपालीका २७ महिना छोरा सोहन नेपाली द्वितिय र माया सिंह धामीका २५ महिना छोरा विभान सिंह धामी तृतिया भएका छन् ।
यस्तै ३-५ वर्षसम्मका बालवालिकाहरुमा प्रतिक्षा भुसालीकी ५० महिनाकी छोरी स्मृति भुसाल प्रथम, सीता रानाकी ४८ महिनाकी छोरी प्रिस्का राना द्वितिया र सपना कार्कीको ४२ महिनाकी छोरी आयुसा कार्की तृतिया भएका छन् ।
कार्यक्रममा स-साना बालवालिकाहरुले तीजको गीतमा नाचेर अतिथि र दर्शकलाई मनोरञ्जन गराएका थिए । कार्यक्रम बाल संगठनका जिल्ला अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता र कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।