यी हुन् विश्वमा संविधानसभाबाटै संविधान जारी गर्ने मुलुक ! नेपाल पनि संविधानसभाबाटै संविधान जारी गर्ने कान्छो मुलुक

संविधानसभामार्फत् संविधान जारी गर्ने अवसर धेरै कम मुलुकले मात्र पाएका छन् ।
आन्तरिक राजनीतिक खिंचातानी र बाह्य हस्तक्षेपले गठन भएको संविधानसभा विघटन भएको पनि प्रशस्तै उदाहरण छन् ।
विभिन्न मुलुकले आफ्नो आवश्यकता र ऐतिहासिक धरातलका आधारमा संविधान लेखनको प्रक्रियालाई तय गरेको पाइन्छ । विशेषतः नयाँ राज्यको उदय, स्वतन्त्रता प्राप्ति, राजनीतिक प्रणाली र व्यवस्थामा हुने आमूल परिवर्तनलाई संस्थागत गर्न नयाँ संविधान निर्माण गरिन्छ ।
कहिँ यो विज्ञहरुका सुझावमा संविधानको मस्यौदा तयार गरी जनमतसंग्रह वा निर्वाचित जनप्रतिनिधिमूलक संस्थामार्फत अनुमोदन गरी जारी गरिन्छ भने कहिँ संविधानसभामार्फत् । संविधानसभावाट निर्माण हुने संविधानमा जनताको सहभागिता र स्वामित्व बढी हुन्छ । त्यसैले यसलाई संविधान निर्माणका अन्य विधिभन्दा लोकतान्त्रिक मानिएको छ ।
जर्मनीमा दोस्रो विश्वयुद्धमा नाजिहरुको हार पछि संवैधानिक शून्यता पूरा गर्न, स्वीटजरल्यान्डमा नागरिक युद्धको अन्त्य गर्न, दक्षिण अफ्रिकामा रंगभेदी शासन अन्त्य गर्न, भारतमा ब्रिटिस उपनिवेश अन्त्य गर्न, अमेरिकामा सार्वभौम राष्ट्र स्थापना गर्न, नेपालमा निरंकुश शासन अन्त्य र माओवादी जनयुद्ध अन्त्य गर्न संविधानसभाको गठन गरिएको पाइन्छ ।
विश्वमा तीन दर्जनभन्दा केहि बढी मुलुकले मात्र संविधानसभाको माध्यमबाट संविधानको निर्माण गरेका छन् ।
सन् १७८९ मा विश्व इतिहासमा पहिलोपटक फ्रान्समा संविधानसभामार्फत् संविधान बनेको थियो । अमेरिका पनि संविधानसभावाटै संविधान जारी गर्ने मुलुकमा पर्दछ ।
फिलाडेल्फिया सम्मेलनले तयार पारेको संविधानको मस्यौदालाई सन् १७८७ मार्च ४ मा ९ ओटा राज्यहरुले अनुमोदन गरेपछि अमेरिकामा संविधान जारी भएको थियो ।
भारतले सन् १९५० जनवरी २६ मा संविधानसभामार्फत् संविधान जारी गरेको थियो ।
नयाँ जनवादी क्रान्ति पश्चात राष्ट्रिय जनकांग्रेसको निर्वाचन गरी सन् १९५४ मा जारी भएको चिनियाँ संविधानलाई संविधानसभाबाटै जारी गरिएको संविधानको कोटीमा राख्न सकिन्छ ।
पछिल्लो समय संविधानसभामार्फत् सफल रुपमा संविधान जारी गर्ने मुलुकमा दक्षिण अफ्रिकालाई लिने गरिन्छ । जसले ५ वर्षको अवधि लगाएर १० डिसेम्बर १९९६ मा प्रजातान्त्रिक संविधान जारी गर्यो ।
इटलीले सन् १९४६, इजरायलले १९४८, टर्कीले १९६२, नामिवियाले १९९०, एल साल्भाडोरले १९९१, भेनेजुयलाले १९९९, बोलिभियाले संविधानसभामार्फत् संविधान जारी गरेका थिए ।
त्यसैगरी, कम्बोडिया, पूर्वि टिमोर, बोस्निया हर्जगोविना, बुरुन्डी र इस्टोनियालगायत केहि अफ्रिकी मुलुकले ९० को दशकयता संविधानसभावाट संविधान जारी गरेका थिए ।
स्वीट्जरल्यान्डलाई पनि संविधानसभाबाट सफलरुपमा संविधान जारी गर्ने मुलुकको रुपमा लिन सकिन्छ । सन् १८४७ मा क्याथोलिक र प्रोटेस्टेन्ट मताबलम्बिबीच भएको २७ दिने गृहयुद्ध रोक्न क्यान्टोनका प्रतिनिधिहरुले संवैधानिक सम्मेलनमार्फत् सन् १८४८ मा संविधान जारी गरेका थिए ।
तर, विश्वका धेरै मुलुकमा भने संविधानसभामार्फत् संविधान बनाउने प्रयास असफल भएको पाइन्छ । थोरै मुलुकमात्र संविधानसभाबाट संविधान जारी गर्न सफल भएका छन् ।
नेपाल पनि संविधानसभाबाटै संविधान जारी गर्ने कान्छो मुलुकको सूचीमा थपिँदै छ । ( इमेजखबर, एजेन्सीको सहयोगमा)