सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम ) । संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणासँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवनबाट राष्ट्रपति डा.रामवरण यादवले आईताबार साँझ नयाँ संविधानको घोषणा गर्ने बित्तिकै सन्धिखर्कका मुख्य चोकमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी निकाय, सङ्घ-संस्था, अस्पतालहरु तथा सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् ।
संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, राष्ट्रिय गीत गाएर, दिपावली गरेर हाम्रो संविधानः राम्रो संविधान भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ-आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा सर्वसाधारणले एक-आपसमा खुशी साटिरहेका छन् ।
सन्धिखर्क बजार र चुत्राबेशी बजारमा नयाँ संविधान आएकोमा खुशी व्यक्त गर्दै द्वीप प्रज्ज्वलन गरी स्वागत गरेका छन् । यस्तै जिल्लाका गाउँ – गाउँमा पनि द्वीप प्रज्ज्वलन गरी स्वागत गर्नुका साथै दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाएका छन् ।
अहिले अर्घाखाँचीभर झिलीमिली छ ।