पाकिस्तानमा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई अपाङ्ग भएकै कारण उक्त सजाय भोग्नबाट तत्कालका लागि रोक लगाइएको छ ।
हत्या आरोपमा अदालतबाट मृत्युदण्डको सजाय तोकिएका ४३ वर्षीय अब्दुल बासितलाई मंगलबार फाँसीमा झुण्ड्याएर मृत्युदण्ड दिने तयारी भएको थियो । तर आफ्नो खुट्टाले उभिन नसक्ने बासितलाई कसरी फाँसी दिने भन्नेमा अन्योल सिर्जना भएपछि तत्कालका लागि सजाय टारिएको हो ।
कानुनतः फाँसीको सजाय दिइने स्थानमा दोषी उभिनुपर्ने हुन्छ । खुड्किलो चढेर फाँसी दिइने स्थानमा दोषी पुगेपछि फाँसीको प्रक्रिया सुरु गरिन्छ । तर बासितले हिँड्नका लागि ह्वील चेयर प्रयोग गर्नुपर्ने भएकाले फाँसी दिइने स्थानसम्म उनी स्वयं पुग्न असमर्थ भएका हुन् भने फन्दाको अघिल्तिर उभिन पनि नसक्ने भएपछि अर्को समस्या थपिएको हो ।
कम्मरभन्दा तलको हिस्सा नचलेका कारण उनी केही समयदेखि ह्वील चेयर प्रयोग गर्दै आएका छन् । ६ वर्ष अघि हत्याको आरोपमा दोषी ठहर भएका उनी जेलमै रहँदा खुट्टा नचल्ने रोगको शिकार भएका हुन् । (एजेन्सी)