पोलियो महामारीग्रस्त मुलुकको सूचीबाट नाइजेरिया हटेको छ । गत एक वर्षमा एक जनामा पनि नयाँ पोलियोको संक्रमण नभेटिएपछि नाइजेरियालाई पोलियो महामारीग्रस्त मुलुकको सूचीबाट हटाइएको हो ।
विश्व स्वास्थ्य संगठनले नाइजेरिया पोलियोग्रस्त मुलुकको सूचीबाट हटेको जानकारी दिएको हो । डब्लुएचओले अमेरिकाको न्युयोर्कमा पोलियो उन्मुलन पहल जिपिइआइको भएको बैठकमा यो जानकारी दिएको हो ।
तीन वर्षसम्म पोलियोको नयाँ संक्रमण फेला नपरे पोलियो उन्मूलन भएको घोषणा गरिने छ । विश्व स्वास्थ्य संगठनका अनुसार अब पोलियो महामारीग्रस्त मुलुकमा पाकिस्तान र अफगानिस्तान मात्र छन् ।
सरसफाइको अभाव र अशुद्ध पानीका कारण पोलियो संक्रमण हुने गर्दछ । यो रोगबाट विशेषगरी बालबालिका बढी प्रभावित हुने गर्दछन् । शरीरको नशामा आक्रमण गर्ने पोलियो भाइरसका कारण मानिस प्यारालाइसिस हुने गर्दछन् ।
यो वर्ष विश्वभरमा ४१ जनामा मात्रै पोलियोको नयाँ संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । गत वर्ष भने दुई सय जनामा पोलियोको नयाँ संक्रमण देखिएको थियो । (एजेन्सी)