आज विश्व मुटु दिवस मनाईंदै

स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निर्माण गरौं भन्ने नाराका साथ (मंगलबार)आज विश्व मुटु दिवस मनाईंदै छ ।
विश्व मुटु महासंघले प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने निर्णय गरेअनुसार नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईदै छ ।
विश्वभर वर्षेनी दुई करोड मानिस मुटु रोगबाट मर्ने गरेको विश्व मुटु महासंघले जनाएको छ । यी मध्ये विकासोन्मुख राष्ट्रमा वर्षेनी मुटुरोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी छ ।
अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटुसम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिइएको छ । 
१० वर्षअघिसम्म ५० वर्ष नाघेकालाई मुटुसम्बन्धी समस्या देखिने गरेको भए पनि केही वर्षयता युवा र बालबालिकामा पनि मुटुको समस्या देखिन थालेको छ ।
सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।
नेपालमा अहिले १५ प्रतिशत नागरिकमा कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको विशेषज्ञले बताएका छन् । स्वस्थ मुटुका लागि स्वस्थ जीवनशैली अपनाउन विशेषज्ञहरुले सुझाव दिएका छन् । इमेजखबरमा समाचार छ ।