डा . रवीन्द्र पाण्डे
प्राकृतिक बिपत्ति, युद्ध वा नाकाबन्दीजस्ता आकस्मिक एबम अमानविय अवस्थामा भौतिक मात्र हैन मानसिक समस्या अपत्यारिलो ढंगबाट बढ्ने गर्दछ । भर्खर महाभूकम्पको त्रासदीबाट त्राण मिलेको समयमा देशमा भएका हिंसात्मक घटना, बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण धेरै व्यक्तिहरुमा आक्रोस, घृणा, पक्षधरता, असुरक्षा महशुष, अभावको कारण असहजता, भविष्यप्रतिको चिन्ता तथा नकारात्मक समाचार एबम हल्लाको कारण अहिले धेरैमा मानसिक असर देखिएको छ ।
मनमा केवल नाकाबन्दी तथा बन्दको सोंच आइरहनु, पूर्व रुचि र इच्छामा कमी हुनु, तत्काल अभाव नभएपनि अभाव अनुभूत हुनु, संचार माध्यम तथा कुराकानीमा नकारात्मक तथा सनसनीपूर्ण समाचार हेर्न / सुन्न चाहानु, हल्लालाई आफै थपथाप पारेर अरुसंग सेयर गर्न मन लाग्नु, आफ्नो काम अर्थात पढाइ, पेशा, ब्यबसाय वा सिर्जनात्मक सोंचमा मन नजानु, असुरक्षित एबम असहाय अनुभव गर्नु, निद्रा कम लाग्नु, खानामा रुचि घट्नु, मुटुको धड्कन बढ्नु, कामनगरेपनि थकाइ लाग्नु, निरास हुनु, समाधानको बिकल्प नदेख्नु, मनमा नकारात्मक कुरा खेल्नु, झर्को लाग्नु आदिजस्ता धेरै मनोबैज्ञानिक लक्षणहरु देखिएका छन् । तसर्थ बुझेका तथा दह्रो मन भएका अभिभावक, परिवार एबम समाजका सदस्य तथा संचार माध्यमहरुले सकारात्मक एबम आशाबादी चिन्तनको प्रसार गर्नु जरुरी छ ।
अन्य देशमा भइरहेका युद्ध तथा तनाबकोतुलनामा हाम्रो समस्या निकै न्यून हो प्रकृतिले हामीलाई यस्तो अमुल्य उपहार दिएको छ कि संसार एकजुट भएर नाकाबन्दी गरेपनि हामीहरु हाम्रा प्राकृतिक सम्पदा, कृषि तथा सहयोगी मनको कारण हामीले अर्को जीवन बिताउन पनि सक्छौं । हाम्रै कारण बाँझा भएका, त्यागेका जग्गामा खेतीपाती, पशुपालन तथा आफ्नो सिपको प्रयोग गरेर पनि हामी स्वस्थ जीवन बिताउन समर्थ छौं । अर्को कुरा, यो अवस्था क्षणिक समयको लागि हो । जब जनतामा धैर्यताको बाँध टुट्छ, नेताहरुमा जनदवाब पर्छ, नाकाबन्दी गर्ने मुलुकलाई आन्तरिक र बाह्य दवाव आउँछ त्यसपछि हाम्रो दिनचर्या पूर्ववत फर्कनेछ । हरेक कालो रातपछि उज्यालो दिन आउने प्राकृतिक नियम हरेक क्षेत्र र जीवनमा लागु हुन्छ । हामीहरु कत्ति पनि चिन्तित हुनु, आत्तिनु तथा निरास हुनु आवश्यक छैन । आत्मबल भन्दा ठूलो उपचार, आत्मबल भन्दा ठूलो हतियार, आत्मबल भन्दा ठूलो साहस एबम आत्मबलभन्दा ठूलो सन्तुष्टि अरु केहि पनि छैन ।
अभावको घडीमा उपलब्ध श्रोतसाधनमा गौरब गर्नु सबैभन्दा ठूलो समाधान हो । यो अबधिमा सबैले आफ्नो काम गरौँ, हल्लाको बिस्वास नगरौं, नयाँ कामको सुरुवात गरौँ र मनले शरीरलाई लगाएको नाकाबन्दी आफुले नै खुलाऔं । इन्धन तथा आधारभूत आवश्यकतामा नाकाबन्दी गरेपनि हाम्रो आत्मबलमा कसैले नाकाबन्दी गर्न सक्दैन ।