रुसद्धारा सिरियामा रहेको इस्लामिक स्टेट आइएसको अखडामा हवाइ हमला

रुसले सिरियामा रहेको इस्लामिक स्टेट आइएसको अखडामा हवाइ हमला गरेको छ ।
रुसी लडाकु विमानले सिरियाको होम्स शहरस्थित आइएसको अखडामा हमला गरेको हो । आइएसको अखडामा हमला गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाका राष्ट्रपति वसर अल असदसँग फोनवार्ता गरेका थिए ।
त्यस क्रममा रुसी राष्ट्रपति पुटिनले सिरियामा जारी हिंस्रक संघर्षको अन्त्यका लागि राजनीतिक सम्झौता गर्न तयार रहन सिरियाली राष्ट्रपतिलाई सुझाव दिएका थिए ।
यसअघि रुसी संसद्ले सिरियामा रुसी वायुसेनाका लागि हमला गर्न अनुमति दिएको थियो । रुसका एक वरिष्ठ अधिकारी सर्गेई इवानोवले सिरियामा सैन्य सहायताको अपीलपछि रुसले यो फैसला गरेको बताए ।
रुसले सिरियामा हवाई हमला जारी राखे पनि आफ्ना स्थल सेना भने तैनाथ नगर्ने स्पष्ट पारेको छ । सिरिया र इराकमा आइएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनले पछिल्लो एक वर्षदेखि हवाई हमला जारी राखेको छ । (एजेन्सी)