कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । भारतले अघोषित रुपमा नाका बन्द गरेपछि अर्घाखाँचीको पनि जनजिवन कष्टकर बन्दै गएको छ ।
प्रयाप्त मात्रामा समानहरु आयात हुन नसकेपछि दैनिक उपभोग्य सामानहरुको अभाव हुन थालेको छ । दैनिक उपभोग्य समानहरुको आपुर्ति सहज नहुदा कालोबजारी मौलाउन थालेको छ । दैनिक प्रयोजनका सामानहरुमा पसलेहरुले मनोमानी रुपमा मुल्य वृद्धिगरेर विक्रीगदै आएका छन् ।
सहज रुपमा भनेजति पेट्रोलियम पदार्थ नपाउदा यात्रामा समेत कठिनाई उत्पन्न भएको छ । पेट्रोलियम पदार्थ सहज रुपमा नपाउदा निजि गाडी तथा मोटरसाईकलहरु फाट्टफुट्टरुपमा मात्र संचालन हुने गरेका छन् । अर्घाखाँचीमा जोर विजोर प्रणाली लागु नभएपनि डिजेलवाट चल्ने गाडीहरुलाई केहि सहज भएपनि पेट्रोलबाट चल्ने गाडीहरु सुचारु गर्न गाह्रो भएको छ ।
दैनिक सयौंको सङ्ख्यामा चल्ने मोटरसाईकलहरु अहिले फाट्टफुट्टरुपमा मात्र बाटोमा देखिन्छन् । जिल्लामा रहेका २ ओटा पेट्रोलपम्पमा अहिले पेट्रोलको अभाव भएको छ । ठुला गाडीहरुको लागी भने डिजेल प्रयाप्त नभएपनि थोरै थारै उपलव्ध गराउदै आएको भुसाल आयलका कृष्ण प्रसाद भुसालले बताए । भुसालले लामो समयपछि जिल्लामा शनिवार मात्र पेट्रोलियम पदार्थको आपुर्ति हुने बताएका छन् । माग अनुसार उपलब्ध गराउन नसकेपनि केहि सहजता आउने उनको भनाई रहेको छ ।
पेट्रोलको अभाव भएसंगै सरकारी कामकाज समेत प्रभावित भएको छ । सहज रुपमा यात्रा गर्न नसकेपछि सेवाग्राहीहरु सेवा लिन नआउने र कर्मचारीलाई समेत कार्यालयमा आउन जान समस्या भएको छ । जिल्लामा अत्यावश्यक सवारी साधनहरु भने सहजरुपमा संचालनमा रहेका छन् ।