रुसद्धारा सिरियाली राष्ट्रपति असदका विपक्षीविरुद्ध हवाई आक्रमण तीब्र

रुसले सिरियाली राष्ट्रपति बशर अल असदका विपक्षीविरुद्ध हवाई आक्रमण तीब्र बनाएको छ ।
आफूलाई स्लामिक स्टेट बताउने अतिवादी समूहको १२ स्थानमा हवाई आक्रमण गरेको रुसले जनाएको छ ।
आइएस नियन्त्रित रक्का, एलेप्पो शहरका साथै आइएसको कम पकड मानिएका हामा र इदलिबमा पनि एक साथ आक्रमण गरिएको जनाइएको छ ।
रुसी आक्रमणको निशानामा असदको सत्ताविरुद्ध संघर्षरत फ्रि सिरियन आर्मीको रेडियो टावर पनि परेको छ ।
विपक्षी सिरियन नेशनल काउन्सिलका अध्यक्ष जर्ज साबराले भने रुसी आक्रमण असदलाई सत्तामा टिकाउन मात्र केन्द्रित रहेको बताएका छन् । 
अमेरिकी नेतृत्वमा रहको गठबन्धनले पनि रुसी आक्रमणप्रति चिन्ता जनाएको छ ।
यसैबीच सिरियाली विदेश मन्त्री वालिद अल मुअल्लमले संयुक्त राष्ट्रसंघले गर्ने शान्ति वार्तामा सहभागि हुन सिरिया तयार रहेको जनाएका छन् । तर आतंकवादविरुद्धको सैन्य कार्वाही भने नरोकिने पनि उनले प्रष्ट गरेका छन् । (एजेन्सी)