नेटोले सिरियामा सरकार विरोधी र सर्वसाधारणमाथिको हवाई आक्रमण तत्काल बन्द गर्न रुसलाई चेतावनी दिएको छ ।
रुसले चरमपन्थी समूह इस्लामिक स्टेटमाथि हमला गर्नुको सट्टा सरकार विरोधीहरुमाथि आक्रमण गरिरहेको भन्दै नेटोले त्यस्तो हमला तत्काल रोक्न चेतावनी दिएको हो ।
तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसले गरेको आक्रमणमा कोही पनि सर्वसाधारण नमारिएको दाबी गरेका छन् ।
यसैबीच टर्कीले एक रुसी लडाकु विमानलाई नियन्त्रणमा लिएको जनाएको छ । सिरियाली सिमास्थित टर्कीको हवाई अड्डामा पुगेको रुसी विमानलाई नियन्त्रणमा लिइएको हो ।
टर्कीका विदेश मन्त्री पेरिदुन सिनिरलियोग्लुले रुसी समकक्षी सर्गेइ लावरोवलाई फोन गरी घटनाको कडा विरोध गरेका छन् ।
उनले रुसले फेरि टर्कीको वायु क्षेत्रको उल्लंघन गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिएका छन् । घटनाबारे टर्कीले नेटोका सदस्य राष्ट्रहरुलाई जानकारीसमेत दिएको छ । (एजेन्सी)