अमेरिकाद्धारा सिरियामा आईएस विरुद्ध संघर्ष गरिरहेका विद्रोही समुहलाई ४५ टनभन्दा बढी गोला बारुद उपलब्ध

अमेरिकाले सिरियाको उत्तर पूर्वी क्षेत्रमा जिहादी समुह इस्लामिक स्टेट आईएस विरुद्ध संघर्ष गरिरहेका विद्रोही समुहलाई ४५ टनभन्दा बढी गोला बारुद उपलब्ध गराएको छ ।
लडाकु विमानको निगरानीमा सी-१७ विमानले हास्सकेह प्रान्तमा रातभर ती गालाबारुद खसालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले पुष्टि गरेका छन् ।
खसालिएका गोला बारुदसँगै केही साना हतियार र ग्रेनेड रहेको र ती सबै विद्र्रोहीसम्म सुरक्षित रुपमा पुगेको बताइएको छ ।
केही दिन अघि अमेरिकाले आईएस विरुद्ध संघर्ष गरिरहेका विद्रोही समुहलाई प्रशिक्षित गर्न ५० करोड डलर दिने योजना रद्द गर्दै विद्रोही समुहका कमाण्डरलाई हतियार दिने निर्णय गरिएको थियो ।
अमेरिकाले सहयोग गरेका विद्रोही समुहले अमेरिकी हवाई आक्रमणको सहयोगमा उत्तरी सिरियाको ठूलो भूभागबाट आर्ईएसलाई भगाएका छन् ।
अहिले पनि सिरिया र इराकको ठूलो भूभाग आईएसको नियन्त्रणमा छ । यसैबीच उत्तर पश्चिम सिरियामा रुसी जेट विमानले पनि विद्रोहीको गढमा हवाई आक्रमण तीब्र पारेको छ ।
अमेरिकाले सहयोग गरिरहेका विद्रोही समुह विरुद्ध हवाई आक्रमण गरेको अमेरिकी आरोप भने रुसले अस्वीकार गर्दै आएको छ ।
सिरियामा राष्ट्रपति बसार अल असादको शासन विरुद्धको चार वर्ष यताको संघर्षले गृहयुद्धको रुप लिएको छ भने २ लाख ५० हजार भन्दा बढी मानिस मारिइसकेका छन् । (एजेन्सी)